Main News

कोरोनासँग मिल्दोजुल्दो मौसमी फ्लूका लक्षण: कोरोना हो कि होइन कसरी छुट्याउने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २१ गते २०:२५
कोरोनासँग मिल्दोजुल्दो मौसमी फ्लूका लक्षण: कोरोना हो कि होइन कसरी छुट्याउने ? (भिडियोसहित)

२१ असोज, २०७७ काठमाडौं । मौसम परिवर्तन भएको छ । मौसम परिवर्तन भएसँगै रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिन्छ । कोरोना संक्रमण र मौसमी फ्लुका लक्षण मिल्दाजुल्दा छन् । जसले गर्दा रुघाखोकी लाग्दा, टाउको दुख्दा पनि हामीलाई कोरोना त होइन भन्ने चिन्ताले सताइनै रहन्छ । कोरोना र मौसमी फ्लु कसरी छुट्याउने त ?

काठमाडौं उपत्यकासहित देशभर नै कोरोना संक्रमित बढ्दै जाँदा नागरिकका कोरोना फोबिया अर्थात आफू पनि संक्रमण भइयो कि भन्ने डर बढेको छ । जसले गर्दा मानिसहरु सामान्य रुघाखोकी लाग्दा पनि तर्सिने गरेका छन् । अहिले गर्मी समय सकिएर विस्तार चिसो मौसम शुरु भएको छ । दिउँसो केही गर्मी भए पनि बिहान बेलुकी चिसो बढेको छ ।

चिकित्सकहरुका अनुसार मौसम परिवर्तनको यो समयमा विगतदेखि नै रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या देखिने गरेको थियो । र यसपाली पनि देखिएको छ । विगतमा रुघाखोकी लाग्दा सामान्य रुपमा लिने नागरिक यसपाली भने रुघाखोकीमा नै झस्किने गरेका छन् । कारण अहिले कोरोनाको डर थपिएको छ ।

मौसमी फ्लु हुँदा नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाच्छ्यु आउने, शरीर दुख्ने, हल्का ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । त्यस्तै टाउको दुख्ने समस्या पनि देखिन्छ । यी लक्षण मौसमी फ्लुको हो । मौसमी फ्लु दुई–तीन दिनमा नै निको हुन्छ । तातोपानी खाँदा, बाफ लिँदा र आराम गर्दा नै मौसमी फ्लु निको हुन्छ । त्यसैले यस्ता समस्या देखिँदा कोरोना नै लाग्यो कि भनेर डराउनु पर्दैन । धेरै डराउँदा झनै असर पर्न सक्छ । त्यसैले यस्तो बेलामा घरमै न्यानोमा बसेर तातो झोलिला र ताजा खानेकुरा खाँदा राम्रो हुने चिकित्सकहरु बताउँछन् ।

यदि कसैलाई कोरोना भएको छ भने मौसमी फ्लुभन्दा भिन्न लक्षण देखिन्छ । कोरोना संक्रमण भएका व्यक्तिलाई उच्च ज्वरो आउने, सुख्खा रुघा र खोकी लाग्ने, धेरै नै थकाई लाग्ने हुन्छ । सास फेर्न गाह्रो हुने, स्वाद वा गन्ध थाहा नपाउने, घाँटी खसखस हुने, बोली परिवर्तन हुने , खाना नरुच्ने जस्ता समस्या पनी देखिन्छ । यी सबै समस्या एक हप्ता वा त्यो भन्दा बढी समयसम्म्म पनि निको नभए कोरोना संक्रमण हुने संभावना धेरै रहने चिकित्सकको भनाइ छ ।

कोरोना संक्रमण हुँदा शरीरमा अक्सिजनको मात्र घट्छ र यस्ता संक्रमितलाई कृत्रिम रुपमा अक्सिजन दिनुपर्ने हुन्छ । त्यसैले लगातार ज्वरो आउने, सुख्खा रुघा र खोकी लाग्ने, धेरै नै थकाई लाग्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएमा तुरुन्तै अस्पताल जान चिकित्सकको सुझाव छ । कोरोना संक्रमणले पार्ने प्रभावलाई ख्याल गर्दै सावधानी अपनाउन पनि उनीहरुको आग्रह छ ।

मौसमी फ्लु होस् वा कोरोना संक्रमण । दुवै भाइरस लागेका व्यक्तिले अर्को स्वस्थ्य व्यक्तिमा रोग सार्न सक्छन् । त्यसैले मौसमी फ्लु वा कोरोना संक्रमण देखिएका व्यक्तिले छुट्टै कोठामा बस्ने, व्यक्तिसँग दूरी कायम गरी बस्नेलगायतका सावधानी अपनाउनुपर्छ ।

धेरै समयसम्म यस्ता लक्षण देखिइनै रहे, पीसीआर परीक्षण गर्ने वा चिकित्सकसँग सल्लाह गरी आवश्यक उपचार गर्नुपर्छ । कोरोना होस वा मौसमी फ्लु यस्ता लक्षण देखिँदा डराउने, हतोत्साहित हुने भन्दा पनि खानपिनमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *