Main News

न्यायाधीश कोरोना संक्रमित भएपछि बामदेव गौतमविरुद्धको मुद्दा प्रभावित

हिमालय टिभी
२०७७ असोज २१ गते १२:४६
न्यायाधीश कोरोना संक्रमित भएपछि बामदेव गौतमविरुद्धको मुद्दा प्रभावित

२१ असोज, २०७७ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र अधिकृतहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध परेको मुद्दा पनि प्रभावित हुने भएको छ ।

सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि त्यसविरुद्ध परेको गौतमविरुद्ध रिट आजका लागि हेर्दाहेर्दै अवस्थामा पेसी तय भएको थियो ।

पीसीआर रिपोर्ट पोजिटिभ देखिएका न्यायाधीश पुरुषोत्तम भण्डारी र अरू अधिकृतको सम्पर्कमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित अन्य न्यायाधीशहरु घरमै आइसोलेसन हुनुहुन्छ ।

न्यायाधीश भण्डारीसँगै प्रधानन्यायाधीश राणा र सर्वोच्चका अन्य न्यायाधीश गत बुधबारको ‘फुलकोर्ट’ बैठकमा सामेल हुनु भएको थियो । कोरोना त्रासका कारण सोमबार र मंगलबार सर्वोच्चका दुईवटा इजलास मात्र तय भएका थिए ।

हेर्दाहेर्दैको मुद्दाको सुनुवाइको मिति नआउँदै फुलकोर्टको बैठकमा बसेका न्यायाधीश भण्डारीलाई कोरोना देखिएपछि आइतबारदेखि सर्वोच्चको सुनुवाइ प्रभावित भएको छ।

कोरोनाका कारण सर्वोच्चले सुनुवाइ संकुचन गर्ने अवस्थामा नेकपा उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभामा मनोनयनविरुद्ध परेको रिटमा पनि सुनुवाइ प्रभावित हुने भएको हो।

आज सुनुवाइ हुन नसके उक्त मुद्दाको सुनुवाइ कम्तिमा एक साता पर धकेलिने छ। गत बुधबारबाट सुरु भएको गौतमको सांसद पदसम्बन्धी विवादमा पहिलो दिन रिट निवेदन पक्षका कानून व्यवसायी र महान्यायाधीवक्ताले बहस गरेका थिए।

दोस्रो सुनुवाइमा सरकारी वकिलले आफ्नो बहस सक्दै गौतमका पक्षका कानुन व्यवसायीले बहस सुरु गरेका थिए।

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले दुवै पक्षको छलफल नभएसम्म अन्य संवैधानिक जिम्मेवारी नदिने भनेपछि संवैधानिक इजलाशमा पठाएको थियो।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा हुनुहुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *