Main News

विपदबाट प्रभावित भएका लाभग्राहीले पनि भूकम्प पीडितले सरह अनुदान पाउने

हिमालय टिभी
२०७७ असोज २१ गते ७:३३
विपदबाट प्रभावित भएका लाभग्राहीले पनि भूकम्प पीडितले सरह अनुदान पाउने

२१ असोज, २०७७ काठमाडौं । विपदबाट प्रभावित भएका लाभग्राहीले पनि भूकम्प पीडितले सरह अनुदान पाउने भएका छन् ।

सरकारले त्यससम्बन्धी कार्यविधि निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । प्रस्तावित ‘विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापन अनुदान कार्यविधि २०७७’ मा प्रभावितको प्रकृतिका आधारमा अनुदान दिइने उल्लेख छ । प्रस्तावित कार्यविधि पारित गर्न मन्त्रिपरिषद्मा लगिने भएको छ ।

यसअघि सरकारले भूकम्प पीडितका लागि अनुदान दिँदै आएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत क्षतिको वर्गीकरणका आधारमा प्रभावितले अनुदान रकम प्राप्त गर्थे । सोही प्रक्रिया अपनाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यविधि निर्माणलाई अन्तिम चरणमा पुर्याएको गृह मन्त्रालयले जनाएको छ ।

प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिमा उक्त कार्यविधिको मस्यौदा प्रस्तुत गरिसकेको छ ।

गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको समितिले उक्त कार्यविधि परिमार्जनसहित पारित गरी मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । गृहमन्त्री थापाले कार्यविधि आएपछि विपद् प्रभावितको पुनःस्थापना र भौतिक संरचनाको पुनःनिर्माणले गति लिने बताउनुभयो ।

समितिमा प्रस्तुत कार्यविधिको मस्यौदामा लाभग्राहीका पहिचानका आधार, अनुदानको प्रकार र किस्ता तथा लाभग्राही छनोट प्रक्रिया तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *