बाँकेमा लागुऔषधको समस्या भयावह, दुर्व्यसनमा यसरी फस्दै युवा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २० गते २०:३१
बाँकेमा लागुऔषधको समस्या भयावह, दुर्व्यसनमा यसरी फस्दै युवा (भिडियोसहित)

२० असोज, २०७७ बाँके । बाँकेमा लागुऔषधको समस्या भयावह बन्दै गएको छ । दुर्व्यसनी भुसको आगो जस्तै फैलँदै गएका छन् । प्लस टु मा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवा दुर्व्यसनमा फसेर जीवन बर्बाद गरिरहेका छन् ।

पछिल्ला दिनमा जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्ष लागुऔषधका दुर्व्यसनीले भरिन थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका मुद्दामध्ये ६७ प्रतिशत मुद्दा लागुऔषधसम्बन्धी छन । बाँकेमा हुने अपराधिक घटनामा संलग्न मध्ये करिब ७० प्रतिशत लागुऔषधका दुर्व्यसनी छन् ।

पछिल्ला दिनमा हुने चोरी , लुटपाट र झैभगडामा संलग्न व्यक्तिमध्ये करिब ७० प्रतिशत लागुऔषधका दुर्व्यसनी छन् । नेपालगञ्जमा दुर्व्यसनी बढेका मात्र छैनन्, लागु औषधको कारोबार र ओसारपसार पनि बढेको छ ।

नेपालगन्ज हुँदै अफिम र चरेश भारततर्फ जाने र भारतबाट ब्राउन सुगर नेपाल भित्रने गरेको छ । लागुऔषधको कुलतमा बालबालिका फस्दै जाने क्रम बढ्दै गएपछि बाँके प्रहरीले अभिभावक, जनप्रतिनिधि र नागरिक समाजका अगुवासँग सहकार्य गरेर ८१ वटै वडामा वडास्तरीय लागुऔषध दुर्व्यसन नियन्त्रण समिति गठन गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म १० वडामा गठन भएका समितिले लागुऔषधविरुद्ध सचेतना अभिवृद्धि र अवैध कारोबारलाई नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्न थालिसकेका छन् ।

नेपालमा रहेका करिब २ लाख लागुऔषधका दुर्व्यसनीमध्ये १६ देखि ४० बर्ष उमेरका ९५ प्रतिशत छन् । २०७७ असारदेखि हालसम्म लागुऔषधको अवैध कारोबार र सेवनमा संलग्न भएको अभियोगमा बाँके प्रहरीले ५६ जनालाई नियन्त्रणमा लिएर कानूनी कारबाही गरेको छ ।

प्रहरीले यो अवधिमा १ सय २४ ग्राम ब्राउन सुगर , १४ किलो अफिम, १३ किलो गाजा, साढे ३ केजी चरेश, २२ लिटर कोरेक्स बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *