आर्थिक

विषम परिस्थितिमा पनि उद्योग दर्ता रोकिएन, ५ अर्ब ८९ करोडको लगानी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते २०:५२
विषम परिस्थितिमा पनि उद्योग दर्ता रोकिएन, ५ अर्ब ८९ करोडको लगानी (भिडियोसहित)

१९ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण फैलन थालेपछि लकडाउन गरिएयता ७१ वटा नयाँ उद्योग दर्ता भएका हुन् । चैत ११ गते गरिएको तीन महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका बीच उल्लेख्य संख्यामा उद्योग–कलका‍रखाना दर्ता भएका हुन् । यी उद्योगमार्फत ४ हजार रोजगारीसहित ५ अर्ब ८९ करोड लगानी प्रतिवद्धता आएको छ ।

पहिलो पटक लकडाउन गरिएको चैत ११ गतेयता ७१ वटा नयाँ उद्योग दर्ता भएको सरकारी तथ्यांकले देखाएको छ । तीन महिना लामो लकडाउन र निषेधाज्ञाले चालु उद्योग कलकारखानालाई धरासायी बनाएपनि नयाँ उद्योग खोल्ने प्रकृया रोकिएको छैन ।

चैत ११ गतेयता १८ वटा उत्पादनमुलक, १७ वटा सेवामुलक र १७ वटा पर्यटनमुलक उद्योग दर्ता भएका छन् । यस्तै १५ वटा उर्जा र ४ वटा कृषि तथा वनपैदावरमा आधारित उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगले ४ हजार नयाँ रोजगारी सृजना गर्नेछन् भने ५ अर्ब ८९ अर्ब लगानीको प्रतिबद्धता आएको छ ।

चैत ११ देखि अहिलेसम्म उद्योग दर्ताको अवस्था :
उत्पादनमूलक : १८
सेवामूलक : १७
पर्यटनमूलक : १७
कृषि तथा वनमूलक : ४
उर्जामूलक : १५
जम्मा : ७१

कोरोना संक्रमण फैलन थालेपछि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्यो । त्यसपछि काठमाडौं उपत्यकाका तीन जिल्लासहित ३५ बढी जिल्लामा भदौ ३ गतेदेखि तीन साता निषेधाज्ञा जारी भयो ।

लगातारको लकडाउन र निषेधाज्ञाका कारण धेरै जसो उद्योग सञ्चालन हुन सकेनन् भने बैंक ऋण तथा कर्मचारी व्यवस्थापन गर्न नसकेर केही त बन्दनै भए । तर प्रतिकुल अवस्थाका बाबजुद नयाँ उद्योग दर्ता भैरहेका छन। यसले चलिरहेका उद्योग कलकारखानामा केही समस्या पारेपनि कोरोनाले नयाँ उद्योग खोल्न चाहाने उद्यमीलाई निरुत्साहित नबनाएको देखिएको छ ।

कुन आर्थिक वर्षमा कति उद्योग दर्ता :
आर्थिक वर्ष २०७२–७३ : ४ सय १०
आर्थिक वर्ष २०७३–७४ : ५ सय ८
आर्थिक वर्ष २०७४–७५ : ४ सय ९६
आर्थिक वर्ष २०७५–७६ : ४ सय ३६
आर्थिक वर्ष २०७६र७७ : २ सय ७७

लकडाउनयता उल्लेख्य उद्योग दर्ता भएपनि गत आर्थिक वर्ष नयाँ उद्योग दर्ता हुनेक्रम झन्डै एक तिहाईले घटेको छ । आर्थिक वर्ष २०७५–७६ मा ४ सय ३६ वटा उद्योग दर्ता भएकोमा गत आर्थिक वर्ष भने २ सय ७७ वटा उद्योग मात्र दर्ता भए ।

तर विगतको तुलनामा उद्योग कलखारखानमा दर्ता घटेपनि कोरोना महामारीका माझ उद्योग कलकारखानामा खोल्न देखिएको यो उत्साहलाई भने सकारात्मक मान्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *