Main News

यसरी बन्यो बालुवाटर कोरोनाको ‘हटस्पट’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १८ गते २०:४६
यसरी बन्यो बालुवाटर कोरोनाको ‘हटस्पट’  (भिडियोसहित)

१८ असोज, २०७७, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार कोरोनाको हटस्पट बनेपछि सबैको ध्यान बालुवाटारतिर मोडिएको छ । प्रधानमन्त्रीका सल्लाहकारसहित, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सवारी चालकमा भटाभट संक्रमण देखिन थालेको छ ।

त्यसैले पछिल्लो समय काम विशेषले प्रधानमन्त्री निवास छिरेका र त्यहाँ कार्यरतसँग सम्पर्कमा आएकाहरुमा पनि डर बढेको छ । नागरिकलाई कोरोनाबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै आएको सरकारका नेतृत्वकर्ताकै निवासमा कसरी फैलियो त कोरोना ?

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सुरक्षामा खटिएका ६७ जनासुरक्षाकर्मीसहित ७१ जनामा कोरोना संक्रमण देखियो । बालुवाटारमा कार्यरत सबैको बिहीबार स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा प्रधानमन्त्रीको सम्पर्कमा रहने सल्लाहकार र प्रमुख स्वकीय सचिवसमेत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अहिलेसम्म कुनै औपचारिक जानकारी आएको छैन । उहाँको बिहीबार स्वाब संकलन गरेर परीक्षण गरिएको थियो थिएन भनेर पनि औपचारिक रुपमा स्पष्ट पारिएको छैन ।

देशभरका सुरक्षाकर्मी संक्रमित भइरहेका बेला बालुवाटारका सुरक्षाकर्मी मात्र संक्रमित भएको भए सामान्य हुन सक्थ्यो । तर यहाँ त प्रधानमन्त्रीसँगै बसेर काम गर्ने सल्लाहकार समेत संक्रमित हुनु चिन्ताजनक हो ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री ओली बालुवाटारबाट बाहिर निस्किनुभएको छैन । उहाँले बालुवाटार भित्रै बसेर देश चलाइरहनु भएको छ । मृगौला प्रत्यारोपण गरेका र जटिल स्वास्थ्य भएका प्रधानमन्त्रीलाई नै ध्यानमा राखेर बालुवाटारमा कोरोना संक्रमणबाट जोगिन हरसंभव उपाय अपनाइएको होला भने अपेक्षा थियो ।

तर बालुवाटारमा कार्यरत ७१ जनालाई एकै दिन कोरोना संक्रमण देखिएपछि बालुवाटारमा पनि लापरबाही रहेछ भन्ने पुष्टि हुन्छ । त्यै लापरबाहीका कारण हरेक दिन स्वास्थ्यका मापदण्ड अपनाउन नागरिकलाई उर्दी जारी गर्ने सरकार अहिले आफैं संक्रमणको जालोमा फसेको छ ।

हिमालय टेलिभिजनलाई बालुवाटारभित्रैबाट प्राप्त जानकारी अनुसार लकडाउन खुलेयता बालुवाटार भित्र मानिसहरुको बाक्लै आवतजावत छ। सत्तारुढ नेकपाको सचिवालय बैठक, स्थायी कमिटी बैठक, मन्त्रीपरिषद बैठकबाहेक पनि बालुवाटारमा थुप्रै कार्यक्रम भए ।

ती कार्यक्रम केही महत्वपूर्ण रहे पनि अधिकांश बालुवाटारमा नगरी नहुने खालका थिएनन । तर प्रधानमन्त्री केपी शर्मा ओलीको आफैं उपस्थित हुन चाहनाले पुस्तक विमोचनसमेत बालुवाटारमै आयोजना गरियो र ती कार्यक्रममा बाहिरबाट पनि मानिस सहभागी भए ।

यतिमात्र होइन, राजिनामाका लागि पार्टीभित्रैबाट प्रधानमन्त्रीमाथि ठूलो दवाब परेका बेलामा त्यहाँ राती अबेरसम्म नेता तथा कार्यकर्ताको जमघट भयो । जसका कारण बालुवाटारभित्रको सावधानीमा कसैको खासै ध्यान गएन ।

बालुवाटार भित्र ठूलो संख्यामा कोरोना पुष्टि भएपछि नियमित रुपमा बालुवाटार आउजाउ गर्ने मन्त्री पनि त्रासमा छन् र केही आइसोलेशनमा बसेका छन् । अर्थात संक्रमितको संख्या बढ्दै जाँदा झनै सक्रिय हुनु पर्ने सरकार अब सुसुप्त बनेको छ ।

जसले गर्दा चाडपर्व ढोकामै आइपुग्दा समेत बनाउनु पर्ने रणनीतिक योजनाका सम्बन्धमा सरकारले कुनै तयारी गर्न सकेको छैन। सरकारको यस्तो तालले ज्यानको जोखिम मोलेर कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका चिकित्सकले पनि हात उठाउन थालिसकेका छन् । तर बालुवाटारबाट कुनै सन्देश आएको छैन ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा भन्दा धेरै संक्रमित नेपालमा भइसकेका छन् । तर बालुवाटारको आँखाले त्यो संक्रमण ग्राफ देखेर पनि नदेखेझैं गरेको छ । जनतालाई आफ्नो सुरक्षा आफैं गर भनेर सबै खोल्न अनुमति दिएको छ । तर महामारीको अवस्था आए के गर्ने भनेर कुनै ठोस योजना बनाएको छैन । कोरोना भित्रिएका सुरुवाती दिनमा सम्बोधनका नाममा कहिले संसद त कहिले राष्ट्रिय मिडियामा छाउने प्रधानमन्त्री पनि अहिले गुपचुप जस्तै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *