Main News

डा. केसीको समर्थन र सरकारको विरोधमा डाक्टरहरुको आन्दोलन चर्किने संकेत (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १८ गते २०:३५
डा. केसीको समर्थन र सरकारको विरोधमा डाक्टरहरुको आन्दोलन चर्किने संकेत (भिडियोसहित)

१८ असोज, २०७७, काठमाडौं । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शिक्षण अस्पतालका चिकित्सक आन्दोलनमा उत्रेका छन् । केसीको आन्दोलनलाई सरकारले उपेक्षा गरेको भन्दै उनीहरु सरकारलाई दबाब दिन आन्दोलनमा उत्रेका हुन् । सरकारले चासो नदिएपनि केसीको समर्थन र सरकारको विरोधमा आन्दोलन बढ्दै जाने संकेत देखिएको छ ।

यो त्रिभुवन शिक्षण अस्पताल परिसर हो । र, यसरी धर्नामा बसेका यही अस्पतालका आवासीय चिकित्सक हुन् । मुलुक अहिले कोरोनाको चपेटामा छ र यस्तो बेला चिकित्सकको भूमिका निकै अहम छ ।

चिकित्सकको प्रत्येक मिनेट निकै महत्वपूर्ण छ । तर यस्तो बेला पनि उनीहरु धर्ना र आन्दोलन गर्न बाध्य छन । डाक्टर गोविन्द केसी आमरण अनशनमा बसेको २१ दिन भैसक्यो, स्वास्थ्य जति बेला जे पनि हुन सक्ने अवस्थामा छ । तर सरकाले वास्ता गरेको छैन । त्यसैले सरकारलाई दबाब दिन उनीहरु आन्दोलनमा उत्रेका छन् ।

अहिले जे अवस्था आएको छ, त्यो सबै सरकारका कारणले भैरहेको उनीहरुको बुझाई छ । केसीसँग गरेका सहमति कार्यान्वयन भएको भए पटक पटक आमरण अनशन बस्नु पर्ने अवस्था आउने थिएन । यसमा सरकार जिम्मेवार नभएको चिकित्सकको गुनासो छ ।

केसीले उठाएका माग अब केसीका मात्रै रहेनन, अब केसीले राखेका मागलाई आफ्नै बनाएर अभियान चलाउने उनीहरुको तयारी छ । किनकी उनीहरुका अनुसार केसीले अहिलेसम्म गरेका काम सबै नेपाली जनताका लागि हो ।

डाक्टर केसी २१ दिनदेखि अनशनमा हुनुहुन्छ र चिकित्सकका अनुसार उहाँको स्वास्थ्य निकै कमजोर भैरहेको छ, जति बेला जे पनि हुन सक्छ । सरकारले भने कुनै वास्ता गरेको छैन । तर सरकारको यो उपेक्षा उसैलाई भारी पर्ने वातावरण बन्दै गैरहेको छ,किनकी केसीको समर्थनको घेरा फराकिलो हुँदै गैरहेको छ भने सरकारको आलोचना बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *