Main News

डा. केसीसँग अविलम्ब वार्ता गरेर जीवन रक्षा गर्न सभापति देउवाको माग

हिमालय टिभी
२०७७ असोज १८ गते १७:००
डा. केसीसँग अविलम्ब वार्ता गरेर जीवन रक्षा गर्न सभापति देउवाको माग

१८ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै अविलम्व वार्ता गरी जीवन रक्षा गर्न माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर केसीको जीवन रक्षामा ढिलाई भए दुष्परिणाम गम्भीर हुने चेतावनी दिनुभएको छ । केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता नदेखाएको भन्दै देउवाले त्यसलाई अत्यन्तै दुःखद र गम्भीर भन्नुभएको छ ।

देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा ०७५ साउनमा डाक्टर केसीसँग सम्झौता गरिएको स्मरण गराउँदै इमान्दारीपूर्वक सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । पहिलेको सम्झौता उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले नै रोपेको देउवाको आरोप छ ।

सुशील कोइराला नेतृत्वको सरकारले कार्यदल बनाएर अध्ययन गरेको र त्यसैका आधारमा आफू नेतृत्वको सरकारले ०७४ साल कार्तिक २४ गते अध्यादेश जारी गरी केसीका माग पुरा गरेको तर वर्तमान सरकारले त्यसलाई विस्थापित गरेकोले आजको समस्या सिर्जना गरेको आरोप लगाउनुभएको छ ।

देउवाले केसीका माग कांग्रेस र सिंगो देशको माग भएको पनि उल्लेख गर्नुभएको छ । वार्तामा उदासीनता देखाएर ओली सरकारले आफ्नो अनुदार चरित्र पुष्टि गरेको देउवाको टिप्पणी छ ।

कांग्रेसले केसीको मागमा समर्थन जनाएर आफ्नो सरकारले माग पुरा गरेको दावी गरेपनि नेपालको स्वास्थ्य शिक्षा लथालिङ्ग हुनु र यसको व्यापारीकरण हुनुमा कांग्रेसकै हात रहेको आरोप पनि लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *