समाज

नेपालमै पहिलो पटक पोखरामा रगत संकलन गर्ने एम्बुलेन्स (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १८ गते ८:००
नेपालमै पहिलो पटक पोखरामा रगत संकलन गर्ने एम्बुलेन्स (भिडियोसहित)

१८ असोज, २०७७, कास्की । रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतिपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ ।

रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन नेपाल रेडक्रस सोसाइटी कास्कीले ‘रक्त संकलन एम्बुलेन्स’ संचालन गरेको छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ ।

गण्डकी प्रदेशमा रगत व्यवस्थापन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी कास्कीले रगत संकलनका लागि ‘रक्त संकलन एम्बुलेन्स’ संचालनमा ल्याएको छ । एकै पटकमा ४ जनाले यो एम्बुलेन्समा बसेर रक्तदान गर्न सक्छन् ।

रगत संकलन गर्न एम्बुलेन्स तनहुँ, स्याङ्जा, पर्वतलगायत छिमेकी जिल्ला र ग्रामीण क्षेत्रमा समेत पुग्छ । कोरोना महामारीले रगत संकलन गर्न निकै अप्ठ्यारो परेको बेलामा अहिले एम्बुलेन्सले रगत संकलनमा सहयोग गरेको छ । रगत संकलन गर्दै हिँड्ने एम्बुलेन्स नेपालमा पहिलो पटक पोखरामा प्रयोग गरिएको हो ।

रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र हैन, रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था एम्बुलेन्सभित्रै छ । पोखरामा निषेधाज्ञा जारी हुँदासमेत एम्बुलेन्सले रक्त संकलन जारी राखेको थियो । एम्बुलेन्समा माइकिङ गर्ने व्यवस्था पनि छ । चोकमा रक्तदान गर्न आह्वान गर्दै माइकिङ गरेपछि रक्तदाता रक्तदान गर्न आइपुग्छन् । रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी भएको छ।

रोटरी क्लब अफ पोखरा अन्नपूर्ण र कोरियास्थित आर आई डिस्ट्रिक ३६–९०, रोटरी क्लब अफ याङजुले रक्त एम्बुलेन्स कास्की रेडक्रसलाई हस्तान्तरण गरेको हो । रोटरीले एम्बुलेन्स ४५ हजार डलरमा खरिद गरेको हो ।

रेडक्रस कास्कीद्वारा संचालित रक्त संचार सेवा पोखराले दैनिक ८० युनिट रगत वितरण गर्ने गरेको छ । गत आर्थिक वर्षमा रक्त संचार केन्द्रले २० हजार युनिट रगत वितरण गरेको थियो ।

रगत संकलन एम्बुलेन्स संचालन आए पछि प्रतिकुल मौसममा समेत रगत संकलन सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *