Main News

अराजक भीडले बुटवलमा यसरी जलायो सरकारी स्कुटर (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १७ गते १७:२१
अराजक भीडले बुटवलमा यसरी जलायो सरकारी स्कुटर (भिडियोसहित)

१७ असोज, २०७७, बुटवल । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव गरेको छ । र यो प्रस्तावको विरोधमा बुटवलमा अराजक प्रदर्शन भएको छ । कांग्रेसका कार्यकर्ता आगजनी र तोडफोडमा उत्रिएका छन् ।

भिडियोमा मोबाइलमा गुहार मागिरहेकी उहाँ शारदा भट्टराई हुनुहुन्छ । तिलोत्तमा नगरपालिकाको शिक्षा शाखामा कार्यरत भट्टराईले चढ्दै आएको सरकारी स्कुटरलाई बुटवलको होराइजन चोक नजिकै नेविसंघका कार्यकर्ताले जलाई दिए ।

स्कुटरमा घर फर्कदैँ गरेकी भट्टराईलाई ओरालेर यो अराजक समूहले यसरी स्कुटरलाई बल्दै गरेको आगोमा हाल्यो । स्कुटर आगोमा हालेपछि विजयी भावमा नाराबाजी भयो ।

भिडले नारावाजी गरिरह्यो । स्कुटर दन्की रह्यो । गुहार मागिरहेकी शारदाको आँखाबाट आँसु झरिरह्यो ।

जतिखेर प्रहरी आयो त्यतिखेर धेरै ढिलो भइसकेको थियो । शारदाले एकछिन अघि चढेको स्कूटर फलामको काम नलाग्ने डल्लो भैसकेको थियो ।

स्कूटर खतम भैसकेपनि प्रहरीले बलिरहेको आगो निभाउने कोशिस गर्यो । तर यो समूहले आगो निभाउनसमेत प्रहरीलाई अवरोध गर्यो ।

प्रदेश राजधानी दाङको भालुवाङमा बनाउने निर्णयविरुद्ध भएको प्रदर्शनमा बुटवलमा एउटा सरकारी गाडीमा आगजनी र तोडफोड भयो । र त्यो तोडफोड र आगजनी गर्ने यस्तै एउटा नालायक भीड हो । जसले अरुलाई नालायक भनेर नाराबाजी गरिरहेको छ ।

आफूलाई चित्त नबुझेको कुरामा विरोध गर्न पाउने अधिकार राजनीतिक दल र नागरिकलाई छ । त्यो अधिकार उपयोगका नाममा अराजकता देखाउनु, सरकारी तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नु अपराध हो ।

यस्तो गर्नेलाई कडाभन्दा कडा कारबाही हुनु जरुरी छ । र, पटक पटक मुलुक हाँकिसकेको पार्टी कांग्रेसले पनि बुझ्नुपर्छ र आफ्ना कार्यकर्तालाई बुझाउन सक्नुपर्छ । यसरी जनताको पक्षमा राजनीति पनि हुन्न र सेवा पनि हुन्न । आन्दोलन र असहमतिको यो प्रवृत्तिले सचेत नागरिक होइन, लठैत मात्रै उत्पादन हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *