Main News

व्यापारिक समूह विशाल ग्रुपको गोदाममा वाणिज्यको छापा, म्याद गुज्रेका सामग्री बरामद

हिमालय टिभी
२०७७ असोज १६ गते १३:२६
व्यापारिक समूह विशाल ग्रुपको गोदाममा वाणिज्यको छापा, म्याद गुज्रेका सामग्री बरामद

१६ असोज, २०७७ काठमाडौं । व्यापारिक समूह विशाल ग्रुपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्सजस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ ।

बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनमा यस्तो अपराध खुलेको हो ।

म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेशिनसहित बिहीबार विभागले ९ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आयन इन्टरनेशनल वितरक समूहका प्रमुख बताउने रोशन बात्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारी छन् ।

स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको भेटिएको वाणिज्य विभागले जनाएको छ ।

मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी खेलबाड गरेको पाइएपछि थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका ९ मध्ये बात्रा भारतीय र अरु नेपाली कामदार हुन् ।

आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामग्री विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र अर्को एक वितरक लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *