Main News

शंकरदास वैरागी : ‘करियर डिप्लोम्याट’बाट पहिलो मुख्यसचिव (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १५ गते २०:२६
शंकरदास वैरागी : ‘करियर डिप्लोम्याट’बाट पहिलो मुख्यसचिव (भिडियोसहित)

१६ असोज, २०७७ काठमाडौं । मुख्यसचिव निजामति सेवाको सर्वोच्च पद हो । यो पदमा पुग्ने धेरैको सपना भएपनि थोरैले मात्रै अवसर पाउँछन् । किनकी मुख्यसचिव हुन वरिष्ठताले मात्र हुन्न । राजनीतिक दल र सत्तामा रहेकाको आशीर्वाद पनि चाहिन्छ ।

त्यसमाथि परराष्ट्र सेवाका कर्मचारीले मुख्यसचिव बन्ने मौका विरलै पाउँछन । वैरागी यस्तै भाग्यमानी हुनुहुन्छ जो पहिलो पटक परराष्ट्र सेवाबाट मुख्यसचिव बन्नुभएको छ ।

२०४४ सालमा नायबसुब्बा पदबाट परराष्ट्र सेवामा प्रवेश गरेका बैरागीले असोज २५ गते अवकास पाउँदै हुनुहुन्थ्यो । तर अवकाश पाउनु १० दिन अघि उहाँ मुख्य सचिव बन्नुभयो । सुब्बाबाट आफ्नो करियरको थालनी गरेका वैरागी अधिकृत, उपसचिव, सहसचिव हुँदै परराष्ट्र सचिवबन्दासम्मको अवधिमा जेनेभामा राजदूत पनि हुनुभयो ।

किनकी परराष्ट्र सेवामा रहेका सचिव, सहसचिव प्राय अवकास पाउनु अगावै राजदूतमा नियुक्त हुने गरेका छन् । २०५१ मा एमालेको अल्पमतको सरकार बनेका बेला तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री माधव नेपालको स्वकीय सचिव रहेका बैरागी दुई वर्षअघिदेखि नै मुख्य सचिव बन्ने दौडमा लागी सक्नुभएको थियो । र, त्यसका लागि उहाँले केही अवसर त्याग्नुभएको पनि थियो ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा नेपालका स्थायी प्रतिनिधि डाक्टर दुर्गाप्रसाद भट्टराईको दुई वर्षअघि पदावधि सकिएपछि सरकारले सचिव बैरागीलाई पठाउन खोजेको थियो। त्यसअघि त्यो पदमा धेरैजसो परराष्ट्र सचिवलाई पठाउने गरिएको थियो। तर,बैरागीले स्वीकार गर्नुभएन । किनकी वैरागीको दाउ मुलुकको १३औं बरियताको राजदूत होइन राज्यको १०‍‍‌‍‌‍औं बरियताको मुख्यसचिव नै पड्काउने थियो । जसमा उहाँ सफल पनि हुनुभयो ।

वैरागीलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला मुख्यसचिव लोकदर्शन रेग्मीलाई नै राजिनामा गराएर पद खालि गराउनुभयो । त्यो पनि रेग्मीलाई बेलायतको राजदूत बनाउने शर्तमा । प्रधानमन्त्री ओलीले रेग्मीलाई राजदूत र वैरागीलाई मुख्य सचिव बनाउनुभयो ।

यदि रेग्मीले राजीनामा नदिएका भए असोज २५ गतेदेखि मुख्यसचिव बन्ने दौडमा रहेका वैरागीसहित केदारबहादुर अधिकारी र चन्द्र घिमिरेनै अवकासमा जानुहुन्थ्यो। तर प्रधानमन्त्री ओली ओलीलाई आफू अनुकूल मान्छेलाई नै मुख्यसचिव बनाउन चाहानुहुन्थ्यो । त्यसैले उहाँले वैरागीलाई रोज्नुभयो ।

१९ वर्षकै उमेरमा सरकारी जागिरे भएका वैरागी फरक सेवाबाटै भएपनि समग्र प्रशासनिक क्षेत्रको नेतृत्व गर्ने ठाउँमा पुग्नुभएको छ । तर विशुद्ध कुटनीतिक क्षेत्रको मात्रै अनुभव संगालेका बैरागीका लागि समग्र कर्मचारी प्रशासन ह्याण्डल गर्न सहज भने पक्कै हुने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *