राजनीति

खतिवडालाई पटकपटक मौका, आठौं नियुक्ति राजदूतमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १५ गते २०:०१
खतिवडालाई पटकपटक मौका, आठौं नियुक्ति राजदूतमा (भिडियोसहित)

१५ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३० गते डाक्टर युवराज खतिवडालाई मन्त्रीसरहको सुविधा पाउने गरी आफ्नो आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको थियो । तर प्रधानमन्त्रीले १५ दिन पनि नपुग्दै आफ्नो निर्णय उल्ट्याउनुभयो ।

निर्णय उल्ट्याउँदा अरुलाई घाटा हुन्छ, तर खतिवडालाई भने फेरि पनि फाइँदै भएको छ । किनकी सरकारले उहाँलाई अमेरिकाको राजदूत सिफारिस गरेको छ । डाक्टर खतिवडा पटकपटक राजनीतिक नियुक्ति पाउने व्यक्ति हुनुहुन्छ । अर्थात राष्ट्रबैंकको कर्मचारीबाट बाहिरिएलगत्तै खतिवडाले यो २० वर्षमा खाली बस्नुपरेको छैन ।

–योजना आयोगको सदस्य
–योजना आयोगको उपाध्यक्ष (२ पटक)
–गभर्नर
–राष्ट्रिय सभा सदस्य
–अर्थमन्त्री
–विशेष आर्थिक सल्लाहकार
–अमेरिकाको राजदूत

नेपालमा दल र शासक दाहिना भएर राजनीतिक नियुक्ति पाउने निकै थोरै भाग्यमानीमध्ये एक हुनुहुन्छ, अर्थविद् डाक्टर युवराज खतिवडा । खतिवडाले पटक पटक मौका पाउनुभएको छ ।

सहायक अनुसन्धान अधिृकतका रुपमा २०३९ मा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका खतिवडाले राष्ट्र बैंकमा २० वर्ष बिताउनुभयो । तर त्यसपछि उहाँले खाली बस्नु परेन । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा राष्ट्रिय योजना आयोगको सदस्य बन्नुभयो । ०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा फेरि खतिवडा आयोगको सदस्य हुँदै उपाध्यक्ष बन्नुभयो ।

आयोगको उपाध्यक्षमा नौ महिना काम गरेपछि खतिवडाले राजीनामा दिनुभयो । तर त्यो पनि अर्को प्रभावशाली पद खान । खतिवडा योजना आयोगको उपाध्यक्ष रहेकै बखत गभर्नरको पद रिक्त भयो। तत्कालीन प्रधानमन्त्री नेपालले राष्ट्रिय योजना आयोगबाट खतिवडालाई गभर्नर बनाउनुभयो ।

गभर्नरभन्दा योजना आयोगको उपाध्यक्ष माथिल्लो हैसियतमा भए पनि खतिवडा आकर्षक मानिने केन्द्रीय बैंक जानुभयो । ५ वर्ष गभर्नर भएपछि खतिवडा २०७१ मा त्यहाँबाट बाहिरिनुभयो । तर फेरि ०७२ सालमा खतिवडा योजना आयोगको उपाध्यक्षमा फर्किनुभयो ।

२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि खतिवडालाई पुरानै जिम्मेवारी सुम्पिनुभयो । यो पटक खतिवडाले आठ महिना आयोगको नेतृत्व गर्नुभयो । योजना आयोगबाट बाहिरिएपछि खतिवडा केही समय खाली बस्नुभयो । तर ०७४ सालको चुनाव खतिवडाका लागि नयाँ टर्निङ प्वाइन्ट भएर आयो । तत्कालीन एमालेका तर्फबाट निर्वाचनको घोषणापत्रको मस्यौदाकारमध्येका एक खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाउनुभयो । पार्टीभित्रका शक्तिशाली नेतालाई पन्छाउँदै खतिवडा अर्थमन्त्री नियुक्त हुनुभयो । र, पछि राष्ट्रपतिबाट मनोनित हुने ३ जनामध्ये एक हुँदै खतिवडा राष्ट्रिय सभामा प्रवेश गर्नुभयो ।

राष्ट्रिय सभामा भएको गोलाप्रथामा खतिवडालाई २ वर्षे कार्यकालको चिठ्ठा पर्यो र पनि उहाँलाई घाटा भएन । खतिवडाको कार्यकाल २०७६ फागुन २० गते सकिने भएपछि प्रधानमन्त्रीले २०७६ फागुन १७ गते खतिवडालाई दोस्रो कार्यकालका लागि राष्ट्रिय सभामा सिफारिस गर्नुभएको थियो ।

खतिवडाले अर्थमन्त्रीमा निरन्तरताका लागि २०७७ भदौ २० गतेभित्रमा राष्ट्रिय सभाको सदस्यका लागि सपथ गर्नुपर्ने थियो। नेकपाका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभामा जाने अडान लिएपछि समस्या भयो । राष्ट्रिय सभामा उहाँ दोहोरिन सक्नु भएन तर प्रधानमन्त्रीले ६ महिनाका लागि भए पनि अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिनुभयो ।

नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले चाहँदाचाहँदै पनि खतिवडालाई राष्ट्रिय सभामा दोहोर्याउन सक्नुभएन । खतिवडाको ठाउँमा बामदेव गौतम जाने भएपछि ०७७ भदौ १९ गते खतिवडा अर्थमन्त्रीबाट बाहिरिनुभयो ।

तर अर्थमन्त्रीबाट बाहिरिएको एक हप्तापछि प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभयो । मन्त्रीसरहको सुविधा पाउने गरी खतिवडा फेरि सिंहदरबार प्रवेश गर्नुभएको थियो । तर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त भएको दुई हप्तापछि खतिवडा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतका लागि सिफारिस हुनुभएको छ ।

अब संसदीय सुनुवाइपछि खतिवडाले राजदूतको नियुक्ति पाउनुहुनेछ । खतिवडाका लागि तत्कालीन नेकपा एमाले र अहिलेको नेकपाको एउटा समूह सधैँ दाहिना भैरहेको छ । प्रधानमन्त्री ओलीले खतिवडालाई सधैं आफ्नो मुख्य सहयोगीका रूपमा वरिपरी नै राख्नुभएको छ । अर्थमन्त्री बनाएपछि खतिवडामा प्रधानमन्त्रीले देखाएको मोह र दिएको जिम्मेवारी त्यसैको परिणाम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्