सडक विस्तार गर्दा भक्तपुरका मौलिक सम्पदा मासिए (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १३ गते २०:३८
सडक विस्तार गर्दा भक्तपुरका मौलिक सम्पदा मासिए (भिडियोसहित)

१३ असोज, २०७७ भक्तपुर । भक्तपुरमा पछिल्लो समय सडक विस्तारसँगै मौलिक सम्पदा नष्ट भएका छन् । ऐतिहासिक र प्राचीन शहर भक्तपुरमा विकासका नाममा सत्तल, पाटी, ढुँगेधारा जस्ता मौलिक सम्पदाको विनाश हुने क्रम बढेको हो । स्थानीय सरकार र अन्य सरकारी निकायले सम्पदा संरक्षणमा ध्यान नदिएपछि स्थानीय बासिन्दा चिन्तित छन् ।

भक्तपुरका चारै नगरपालिकामा पछिल्लो पटक सडक विस्तार तिव्र छ । तर यसरी सडक बिस्तार गर्दा मौलिक सम्पदा जोगाउन भने ध्यान दिइएको छैन । कतिपय सम्पदाको जीर्णोद्वार नगरिँदा मासिने अवस्थामा पुगेका छन् । कमल विनायकको भत्केको पाटीको अस्तित्व नै समाप्त भइसकेको छ । भक्तपुर नगरका केही पाटी र ढुँगे धाराको अस्तित्व पनि धरापमा छ ।

सूर्यविनायक नगरपालिकाको सूर्यविनायक चोकदेखि गणेश मन्दिर जाने बाटोमा रहेका तीन वटा ऐतिहासिक पाटी र एउटा ढुंगेधाराको करिब ३ मिटर क्षेत्रफल पुरेर सडक बिस्तार गरिएको छ । पहिचान नै नरहने गरि ऐतिहासिक पाटी समाप्त पारिएको छ ।

यस्तै, सूर्यबिनायक नगर भित्रका अधिकांश ढुँगेधारा र ऐतिहासिक मठ मन्दिर जीर्ण अवस्थामा रहँदा समेत सरोकारवाला निकायको ध्यान जान सकेको छैन् । मध्यपुर थिमि नगरपालिका वडा नम्बर २ को जनक शिक्षा अगाडि रहेको २ सय ५१ वर्ष पुरानो पाटी पुनःनिर्माण गर्दा पटक पटक विवाद भएपछि मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ ।

चाँगुनारायण नगरपालिका पनि सम्पदा विनाशमा पछि छैन । नगरपालिकाभित्र रहेका ढुँगेधारा, पाटी–पौवा, सत्तल र मठ मन्दिर जीर्ण छन् । सरोकारवाला निकाय पुरातत्व विभाग भने परम्परागत र ऐतिहासिक महत्व बोकेका सम्पदाको विनाश हुँदा पनि केही गर्न नसक्ने अवस्थामा छ । बरु उसका आफ्नै गुनासा छन् ।

भक्तपुर प्राचीन सम्पदा र संस्कृतिको धनी छ । पुर्खाले निर्माण गरिदिएका सम्पदाको संरक्षणमा स्थानीय तह र अन्य सरकारी निकायको पर्याप्त ध्यान पुग्न सकेको छैन । मौलिक सम्पदा जोगाउन सके मात्रै वास्तविक विकास हुन्छ भनेर सरोकारवाला निकायले कहिले बुझ्लान ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *