Political Hightlights

कांग्रेसमा नेतृत्व हत्याउन यस्तो आरोप–प्रत्यारोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १३ गते २०:३४
कांग्रेसमा नेतृत्व हत्याउन यस्तो आरोप–प्रत्यारोप (भिडियोसहित)

१३ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेस अहिले महाधिवेशनको तयारीमा छ । आगामी फागुनमा काठमाडौंमा हुने भनिएको महाधिवेशन कोरोना महामारीका कारण अझै अनिश्चित छ ।

तर, नेतृत्व आफ्नो पक्षमा पार्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह कस्सिएर लागेको छ । यस क्रममा उनीहरु एक अर्काप्रति आक्रामक छन् ।

सभापति शेरबहादुर देउवाका कामप्रति असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सोमबार विरोध पत्र दिँदै गलत निर्णय सच्याउन देउवालाई एक हप्ताको समय दिएको छ ।

विधानविपरीत निर्णय, जवर्जस्ती विभाग गठन र मनोनयन, क्रियाशील सदस्यता सम्बन्धी पछिल्लो निर्णय महाधिवेशन कब्जा गर्ने उद्देश्यबाट प्रेरित भएको पौडेल समूहको बुझाई छ । १४ औं महाधिवेशन निष्पक्ष र स्वच्छ नहुने पौडेल समूहको निष्कर्ष छ ।

त्यसैले असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट माग सम्बोधन नभए देउवा विरुद्ध संघर्षका कार्यक्रमनै घोषणा गर्ने पौडेल समूहको चेतावनी छ ।

पौडेल समूह महाधिवेशनको कार्यतालिका सार्वजनिक भएदेखि नै देउवा विरुद्ध लागीरहेको छ । उसलाई फेरि देउवानै नेतृत्वमा आउने डर छ । निर्वाचन समितिमा उजुरी, पत्रकार सम्मेलन र पटक–पटक ध्यानाकर्षण गर्दा पनि देउवाले नसुने पछि अब पौडेल समूह मैदान मै उत्रिने तयारीमा छ ।

तर पौडेल समूहले विधानको कुरा गरेर देउवामाथि नेतृत्व हत्याउन खोजेको आरोप लगाएपनि देउवा पक्ष त्यो मान्न तयार छैन । पौडेल समूह जे गरिरहेको छ, त्यो पनि महाधिवेशन केन्द्रीत रहेको र देउवालाई कमजोर बनाएर जित्न सकिन्छ भन्ने मनोविज्ञानले प्रेरित रहेको देउवा पक्षको दावी छ । अर्थात जे जे भैरहेको छ, पार्टीको चुनावका लागि भैरहेको छ ।

नेपाली कांग्रेसमा देउवाको नेतृत्वमा संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा असन्तुष्ट पक्ष गरी तीन वटा गुट सक्रिय छ । अहिले पौडेल र देउवा पक्षबीच वार चलिरहँदा सिटौला पक्ष पर्ख र हेरको नीतिमा छ । पौडेल पक्षले देउवा विरुद्ध विरोध पत्र बुझाउँदा सिटौला संलग्न नहुनु त्यसैको संकेत हो । तर उसको दाउ पनि आगामी पार्टी चुनाव नै हो ।

कांग्रेस अहिले सबैले विधानको कुरा अगाडि सारेका छन । तर त्यो कुरा देखाउने मात्रै हो भन्ने राजनीतिक विश्लेषकको टिप्पणी छ । जे भैरहेका छन, ती सबै नेतृत्व कसरी पाउन सकिन्छ भनेर खोजिएका उपाय मात्रै हुन ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा र तल्लो तहबाट प्रतिनिधि चुनिने क्रममा कांग्रेस भित्रको यो विवाद थप बढ्दै जानेछ किनकी केन्द्रीय नेतृत्व लिन तलै बलियो हुनुपर्छ । त्यसैले तल बलियो हुन सबैले सकेको गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्