Main News

उत्तरी छिमेकी पनि उस्तैः नाका बन्द गर्दा २ हजार कन्टेनर अलपत्र (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १३ गते २०:३१
उत्तरी छिमेकी पनि उस्तैः नाका बन्द गर्दा २ हजार कन्टेनर अलपत्र (भिडियोसहित)

१३ असोज, २०७७ काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले केही महिनायता विभिन्न कारण देखाउँदै केरुङ र तातोपानी नाकाबाट हुने आयात निर्यातमा अवरोध गर्दै आएको छ । ३ महिनादेखि तातोपानी नाका बन्द छ भने ६ महिनापछि बल्लतल्ल खुलेको केरङ नाकाबाट समेत दैनिक ४–५ वटा सम्म मात्र कन्टरेनर छिर्न दिने शर्त चीनले तेर्साएको छ ।

दुबै नाकामा झन्डै २० अर्ब रुपैयाँ बराबरका सामान बोकेका कन्टेनर अड्किएका छन् । हजारौं कन्टेनर नाकामा अड्किइरहँदा पनि सरकारले भने खासै चासो दिएको छैन ।

६ महिनादेखि बन्द रसुवास्थित केरुङ नाका यही असोज ६ गतेदेखि खोल्न चीन तयार भएपछि व्यवसायी उत्साहित थिए । कोरोना कारण देखाएर चीनले चैतमै बन्द गरेको नाका खुल्ने भएपछि नाकामा अडकिएका झन्डै १२ सय कन्टेनर अब सहजरुपमा आउने व्यवसायीको अपेक्षा थियो । तर बल्ल्तल्ल खुलेको नाकाबाट चीनले दैनिक ४–५ वटा कन्टेनर मात्र पठाउने गरेको छ ।

योभन्दा खराब अवस्था सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा छ । वर्षासँगैको बाढीपहिरोका कारण ताल फुट्ने जोखिम देखिएको भन्दै असारदेखि यो नाका बन्द गरिएको छ । तर ताल फुट्ने सम्भावना टरेपनि नाका खोल्न चीन तयार देखिएको छैन् । यसबाट तातोपानी नाकामा चीनपट्टी अड्किएका करिब ८ सय कन्टेनर ३ महिनादेखि वारी आउन पाएका छैनन् । लामो समय कन्टेनर रोकिँदा त्यसमा रहेको सामानबारे समेत व्यवसायी चिन्तित छन् ।

चीनले नाकाबाट ४–५ वटा मात्र कन्टेनर पठाउनुको कारण कोरोना संक्रमणको जोखिम भनेको छ । तर नेपाली भन्सार कार्यलयमा कोरोना संक्रमणको जोखिम कम गर्न लगभग सबै स्वास्थ्य मापदण्ड अपनाइएको छ ।

दसैंतिहारजस्ता प्रमुख चाडबाड सुरु हुन लागेकाले छिटोभन्दा छिटो सबै सामान पठाइदिन नेपाली पक्षले पटक(पटक आग्रह समेत गर्दै आएको छ । तर त्यसका बावजुद नाकाबाट सहजरुपमा कन्टेनर पठाउन चीन तयार देखिएको छैन । यद्यपि नेपालको प्रयास भने जारी छ ।

सामान बोकेका कन्टेनर नाकामै अड्किँदा व्यवसायीको अर्बौँ लगानी जोखिममा परेको छ । यस्तै सामान नाकामै अड्किएका कारण दसैमा नयाँ लत्ताकपडा समेत नआउने भएका छन् । त्यसैले एकचोटीका लागि सीमापारी रोकिएका कन्टेनर आउने वातावरण मिलाईदिन व्यवसायीले सरकारसँग आग्रह गर्दै आएका छन् । तर कसैले चासो नदिएको व्यवसायीको गुनासो छ ।

नेपालको वैदेशिक व्यापारमा चीनको १६ प्रतिशतको हिस्सा छ । लत्ताकपडा, विद्युतीय साम्रागी, फलफूल लगायतका वस्तु मुख्य तया चीनबाटै आयात हुने गरेको छ । दसैंतिहारको सम्मुखमा रहेको नेपालका लागि यीनै सामानको बढी माग छ । तर नाका बन्द हुँदा दसैंका सामग्री उतै अड्किएका छन् । आफूलाई असल छिमेकीको दाबी गरिरहने चीनले लामो समय नाका रोकिरहनु भने रहस्यमय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *