आर्थिक

६ महिनादेखि बन्द तीन वटा पाँच तारे होटल बिहीबारदेखि सञ्चालनमा आउने

हिमालय टिभी
२०७७ असोज १२ गते १७:४२
६ महिनादेखि बन्द तीन वटा पाँच तारे होटल बिहीबारदेखि सञ्चालनमा आउने

१२ असोज, २०७७ काठमाडौं । कोरोना महामारीका कारण ६ महिनादेखि बन्द तीन वटा पाँच तारे होटल आगामी बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् ।

काठमाडौंको बौद्धस्थित हायात, लाजिम्पाटको र्‍याडिसन र दरबारमार्गको याक एण्ड यती होटल पुन संचालन हुन लागेका हुन् ।

कोरोना महामारीका कारण सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको र भएका विदेशी पर्यटकसमेत स्वदेश फर्किएपछि देशभरका होटल बन्द थिए । तर सरकारले असोज १ गतेदेखि होटल खुल्ला गर्ने निर्णय गरेको थियो ।

सामान्य अवस्थामा विदेशी पर्यटक अक्टोबर महिनादेखि नेपाल भ्रमणमा आउन सुरु गर्छन् । त्यहीकारण पाँच तारे होटल खोल्ने तयारी गरिएको हो ।

बुकिङ सेवा र विभिन्न प्याकेज ल्याउने होटलहरुको तयारी छ । कात्तिक १ गतेदेखि हिमाल आरोहण खुल्ला गरेको सरकारले सोही मितिदेखि विदेशी पर्यटकलाई समेत नेपाल भ्रमणमा आउन खुला गर्ने योजना बनाएको छ ।

हाल रोकिएको अनअराइभल भिसा समेत कात्तिकदेखि खोल्ने तयारी छ । देशभर १५ वटा पाँच तारे, १ सय २९ वटा तारेसहित १ हजार १ सय २५ भन्दा बढी स्टाररहित होटल संचालनमा छन् ।

यी होटलमा ५० हजारभन्दा बढी कोठा छन् । कोरोना भाइरसको प्रकोपका कारण बाह्य तथा आन्तरिक पर्यटक आगमन ठप्प हुँदा सबैजसो होटलका कोठा खाली छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *