आर्थिक

वायु सेवा निगमलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा

हिमालय टिभी
२०७७ असोज १२ गते १६:५४
वायु सेवा निगमलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा

१२ असोज, २०७७ काठमाडौं । सरकारले निर्माणको अन्तिम चरणमा पुगेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्‍याण्डलिङको जिम्मा नेपाल वायु सेवा निगमलाई दिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्‍याण्डलिङको जिम्मा निगमलाई दिने निर्णय गरेको हो ।

प्राधिकरणले निर्णय गरे पनि यसबारे सम्झौता भने भइसकेको छैन् । यसअघि सरकारले विमानस्थलको सञ्चालन र व्यवस्थापनमा विदेशी साझेदार भित्र्याउने निर्णय गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण विदेशी साझेदार भित्र्याउने प्रकृया सुरु भएको छैन् । त्यसैले विमानस्थल व्यवस्थापनको काम प्राधिकरणले नै गर्नेछ ।

ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएसँगै निगमले अब विमानस्थलमा यात्रुलाई जहाजमा चढाउने र ओराल्ने, सफा गर्ने, ब्यागेज व्यवस्थापन गर्ने, बसको व्यवस्था गर्ने लगायतका काम गर्नेछ । निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको छ ।

जहाज उडाउँदा घाटा खाँदै आएको नेपाल वायु सेवा निगमको आयको एक मुख्य स्रोत ग्राउण्ड ह्याण्डलिङ भएको छ । भौतिक पूर्वाधार निर्माण सकिए पनि विमानस्थलको केहि प्राविधिक काम बाँकी छ । सरकारले आगामी पुसभित्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *