खेलकूद

ब्याडमिन्टन राष्ट्रिय टोली फर्कियो प्रशिक्षणमा, कोर्टको अवस्था यस्तो दयनीय (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ११ गते २०:३९
ब्याडमिन्टन राष्ट्रिय टोली फर्कियो प्रशिक्षणमा, कोर्टको अवस्था यस्तो दयनीय (भिडियोसहित)

११ असोज, २०७७, काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको ब्याडमिन्टन राष्ट्रिय टोलीको प्रशिक्षण शुरु भएको छ । भाइरस सर्न नदिनका लागि प्रशिक्षण स्थलको निर्मलीकरण गरेर मात्र प्रशिक्षण गर्न सुझाइएको छ । तर, खेलाडी प्रशिक्षण स्थल पुग्दा निर्मलीकरण त परै जाओस, फोहोरका कारण कोर्ट खेल्न योग्य समेत थिएन ।

कोरोना भाइरसका कारण दोस्रो पटक लकडाउन भएपछि ब्याडमिन्टनको प्रशिक्षण पनि रोकियो । सरकारले निषेधाज्ञा खुल्ला गरेपछि आजदेखि ब्याडमिन्टन खेलाडी प्रशिक्षणमा फर्किए । पुनः प्रशिक्षण गर्न पाउँदा आशमा खेलाडी उत्साहित थिए । तर पहिलो दिन कभर्डहलमा पस्दा अवस्था भने दयनीय थियो ।

उनीहरुको उत्साह कवर्डहल पसेपछि टिक्न सकेन । किनभने त्यहाँ अभ्यास गर्ने वातावरण नै थिएन । प्रशिक्षण गर्नुअघि प्रशिक्षण स्थल र सामाग्रीको निर्मलीकरण गर्नु पर्ने भनिएपनि कवर्डहल निकै फोहोर थियो ।

एकातिर कभर्ड हलको मर्मत सम्भार काम भइरहेको थियो भने अर्कातिर बिछ्याइएको म्याट र हलको भुइँ फोहोर थियो । त्यसपछि खेलाडी आफैं सरसफाईमा जुटे ।

खेलाडीहरू बाल्टिनमा पानी, हातमा कुचो र पोछा लिएर परेवाले गरेको फोहोर सफा गरे ।

नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् सँगको समन्वयपछि आईतवारदेखि प्रशिक्षण पुनः आरम्भ गर्ने शुक्रबार सार्वजनिक गरेको थियो । तर आइतबार अभ्यासमा फकर्ने संघले जानकारी गराएर अनुमति पाए पनि वातावारण भने खेलाडीमैत्री हुन सकेन ।

दुई घन्टा लामो सरसफाइपछि मात्र कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन कोर्टमा खेलाडीलाई सामान्य वार्मअप गराए । प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए ।

नेपालमा खेलकुदका पूर्वाधार न्यून र सिमित छन् । एउटै स्थलमा धेरै प्रतियोगिता गर्न हामी विवस छौं । तर भएका सिमित पूर्वाधार पनि सही तरिकाले संरक्षण गर्न नसक्नु दुखद हो ।

राष्ट्रका लागि खेल्ने खेलाडीलाई उचित वातावरणबाट खेलमा फर्काउन सरोकारवाला निकायले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्