Main News

कोरोना संक्रमित गर्भवतीको पीडाः अस्पतालले भर्ना नलिएपछि घरमै अक्सिजनको भर (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ११ गते २०:२७
कोरोना संक्रमित गर्भवतीको पीडाः अस्पतालले भर्ना नलिएपछि घरमै अक्सिजनको भर (भिडियोसहित)

११ असोज, २०७७, पर्सा । वीरगञ्जकी एक जना कोरोना संक्रमित गर्भवति महिलालाई भर्ना गर्न वीरगञ्जका स्वास्थ्य संस्थाले अस्वीकार गरेका छन् । कोरोना संक्रमितकै उपचार गर्ने नेसनल मेडिकल कलेज कोभिड अस्पतालले समेत भर्ना लिन नमानेपछि अहिले ती महिला घरमै कोरोनासँग संघर्ष गरिरहेकी छिन् ।

कृत्रिम अक्सिजन लिइरहेकी उहाँ कोरोना संक्रमित गर्भवती हुनुहुन्छ । कोरोना लाग्दा जेजे हुने हो त्यो सबै बेथाले उहाँलाई च्यापेको छ । हनहनी ज्वरो आएको छ । खोकी लागेको छ । सास फेर्न सकस छ ।
तर यति हुँदा पनि उहाँ अस्पतालको बेडमा हुनुहुन्न् ।

वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि उहाँ अहिले घरमै कोरोनासँग लडिरहनुभएको छ । कोरोना संक्रमितकै उपचार गर्दै आएको नेसनल मेडिकल कलेज कोभिड अस्पतालले समेत उहाँलाई भर्ना लिन मानेन । त्यसैले परिवार बाध्य भएर यसरी घरमा अक्सिजन दिएर राख्न बाध्य छ ।

८ महिनाकी गर्भवती उहाँ कोरोना संक्रमित भएको वीरगञ्जका स्वास्थ्य संस्था चिकित्सक प्रहरी प्रशासन सबैलाई थाहा छ । तर पनि उपचार गर्न कोही अघि सरेनन् । रामगढवाकी २६ वर्षीया महिलालाई शनिबार अचानक स्वासप्रश्वासमा समस्या देखिएको थियो । हल्का ज्वरो आउनुका साथै खोकी पनि लागेको थियो ।

त्यसैले आफन्तले सीतालाई अस्पताल पुर्‍याए । महिलाको गर्भको नियमित जाँच गरिरहेकी प्रसुति रोग विशेषज्ञ डा‍क्टर निलम चौरसियाले स्वास प्रश्वासको समस्या भएकाले जनरल फिजिसियनलाई देखाउन सल्लाह दिनुभयो ।

त्यसपछि महिलाई एडभान्स अस्पताल लगियो, त्यहाँ डाक्टर उदयनारायण सिंहले जाँच्नुभयो । जाँच गर्दा कोरोना संक्रमणको शंका लागेपछि पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइयो । प्रयोगशालाले कोरोना संक्रमण पुष्टि गर्‍यो ।

गर्भवती, त्यसमाथि लक्षणसमेत भएकाले नारायणी अस्पतालले कोभिड अस्पताल लैजान सुझाव दियो, तर नेसनल मेडिकल कलेज कोभिड अस्पतालले राख्न नसकिने जवाफ दियो । बिरामीले भर्ना पाएनन् भनेर गुनासो गर्न जिल्ला प्रहरी कार्यालय पुगेका आफन्तलाई प्रहरीले गेटबाटै डाक्टरले जे भन्छन् त्यै मान्नु भनेर पठाइदियो ।

सरकारले भनिरहेको छ, कोही उपचारबाट वञ्चित हुन्न । तर यथार्थ फरक छ, ठाउँठाउँमा बिरामीले उपचार पाइरहेका छैनन, वीरगञ्जकी गर्भवती महिलामाथि भैरहेको खेलवाड पछिल्लो उदाहरण मात्रै हो । तर दुखको कुरा सरकार अझै पनि नागरिक उपचारबाट वञ्चित छन् भनेर मान्न तयार छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *