आर्थिक

रैथाने अमिला फलफूल जोगाउन खुल्यो जीन बैंक (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ११ गते १६:५८
रैथाने अमिला फलफूल जोगाउन खुल्यो जीन बैंक (भिडियोसहित)

११ असोज, २०७७ धनकुटा । किसान नयाँ प्रजाति प्रति आकर्षित हुनु, रोग किराको बढ्दो प्रकोप जस्ता कारणले रैथाने जातका अमिला फलफूल लोप हुने क्रम बढेको छ । धनकुटाको पारी पात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले रैथाने प्रजाती लोप हुन नदिन फिल्ड जीन बैंक स्थापना गरेर काम अघि बढाएको छ ।

धनकुटास्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारी पात्लेले फिल्ड जीन बैंक स्थापना गरेको १० वर्ष भयो । यहाँ नेपालसहित विभिन्न देशका विभिन्न स्थानमा पाइने विभिन्न प्रजातीका अमिला फलफूलको जीन संकलन गरेर सुरक्षित गरिएको छ । यो नेपालकै अमिलो जातको एक मात्र जीन बैंक हो । बढ्दो रोग किराको प्रकोप, जलवायु परिवर्तनको असर तथा नयाँ नयाँ प्रजातिको विकासले गर्दा पुरानो तथा रैथाने अमिलो जात लोप हुने अवस्थामा पुगेपछि कार्यालयले जीन सुरक्षित गरेको हो । यो अवधिमा विभिन्न प्रजाती अन्तर्गतका १३८ प्रकारका अमिलो जातको जीन संकलन गरेर सुरक्षित गरिएको छ ।

अहिले अन्य स्थानबाट लोप भइसकेको विभिन्न प्रजातीसमेत यहाँ देख्न सकिन्छ । कार्यालयले करिब पाँच रोपनी क्षेत्रफल छुट्याएर खुल्ला स्थानमै विभिन्न प्रजाती राखेको छ । कार्यालयले आवश्यक परेको खण्डमा ति प्रजातिका जीन प्रयोग गरेर त्यही गुण भएका तथा अन्य जातसँग मिसाएर नयाँ जातका प्रजाति विकास गर्ने गरेको छ । जीन बैंकको स्थापनापछि विभिन्न लोपोन्मुख जात जोगिनुको साथै विभिन्न नयाँ जातको विकास गर्न सहयोग पुगेको छ ।

रोग र किराको प्रकोप, जलवायु परिवर्तनको असरका कारण विभिन्न जात लोप हुने अवस्थामा पुगेका छन् । तर कृषकको अमिलो जातका फलफूल खेतीप्रतिको आकर्षणका कारण वर्षेनी नयाँ तथा उन्नत प्रजातिको माग बढ्दो छ । यस्तोमा जिन बैकले एकातिर लोपोन्मुख प्रजाति संरक्षण गर्न मद्दत गरेको छ भने अर्कोतर्फ नयाँ जात विकास गर्न समेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *