Main News

दलहरुका लागि डा. केसीः सत्तामा हुँदा एउटा र नहुँदा किन अर्कै ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ७ गते २०:२२
दलहरुका लागि डा. केसीः सत्तामा हुँदा एउटा र नहुँदा किन अर्कै ? (भिडियोसहित)

७ असोज, २०७७, काठमाडौं । डाक्टर गोविन्द केसी पटकपटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अनशन बसिरहनुभएको छ । चिकित्सा शिक्षाको सुधारको माग राख्दै, ज्यानै जोखिममा राख्ने डाक्टर केसीलाई दलहरुले हेर्ने दृष्टिकोणमा भने एकरुपता छैन । उहाँका मागबारे दलहरु सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्कै कुरा गरिरहेका छन् ।

अहिले शिक्षण अस्पताल महाराजगञ्जमा अनशन बसिरहेका डाक्टर गोविन्द केसीको यो १९ औं अनशन हो । यो अनशन १९ औं भए पनि माग चिकित्सा शिक्षाको सुधारसँग सम्बन्धित नै छन् । जुन माग राखेर उहाँ यसअघि १८ पटक अनशन बस्नु भएको थियो । र सरकारले माग पूरा गर्छु भनेपछि नै अनशन तोड्नु भएको थियो ।

उहाँ कम्युनिष्ट र कांग्रेसको सरकारमा रहँदा मात्र हैन । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको अन्तरिम सरकारका बेलामा पनि अनशन बस्नु भएको थियो । केसीको अनशन जहिले पनि सत्ता पक्षलाई टाउको दुखाइ र विपक्षीलाई सरकारमाथि दबाव बनाउने हतियार बन्दै आएको छ । त्यसैले कुनै बेलाका उहाँको अनशनका पक्षधर कुनै बेला विरोधी त कुनै बेलाका विरोधी कुनै बेला अनशनको पक्षधर हुँदै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले डाक्टर केसीको अहिले समर्थन गरिरहेको छ । आफू सत्तामा हुँदा डाक्टर केसीको सबै माग पूरा गरेको, र अहिले नेकपा सरकारले सम्झौता गरेर कार्यान्वयन नगर्नू बेइमानी भएको कांग्रेसको भनाइ छ ।

डाक्टर केसीले पटकपटक राखेका माग पुरा गर्न सहमति गर्ने, अनशन तोडाउने र कार्यान्वयन नगर्ने भैरहेको छ । माथेमा आयोगले २०७२ मा सरकारलाई बुझाएको प्रतिवेदनमा समेटिएका विषय कार्यान्वयन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल दिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पढाइ शुरु गरिनुपर्ने केसीको माग छ ।

प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने र चिकित्सा शिक्षा सुधारको माग गर्दै केसी अनशनमा हुनुहुन्छ । तर सत्तारुढ दल नेकपाका सांसदको नजरमा यी माग पूरा गर्न सकिने खालका नै छैनन् ।

डाक्टर केसीकै अनशनका कारण मेडिकल शिक्षामा सुधारका लागि अध्ययन गर्न र सुझाव दिन त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डाक्टर केदारभक्त माथेमाको संयोजकत्वमा आयोग बनाइएको थियो । त्यो आयोगका सदस्य प्राध्यापक डाक्टर सुरेशराज शर्मा अनुसार डाक्टर केसीका माग जायज छन र पुरा गरी कार्यान्वयन गर्न राज्य गम्भिर हुनु पर्छ ।

२०६९ सालदेखि चिकित्सा शिक्षा सुधारका लागि विभिन्न माग राख्दै अनशनरत डाक्टर केसीका समर्थकका अनुसार ७० प्रतिशत माग पूरा भएका छैनन् । सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण केसीमाथि पटकपटक धोका हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *