Main News

कैदीबन्दी जैसवालको मृत्युबारे केन्द्रीय कारागार र वीर अस्पतालले दिए यस्तो प्रष्टिकरण

हिमालय टिभी
२०७७ असोज ७ गते १८:१७
कैदीबन्दी जैसवालको मृत्युबारे केन्द्रीय कारागार र वीर अस्पतालले दिए यस्तो प्रष्टिकरण

७ असोज, २०७७ काठमाडौं । कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रीय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टिकरण दिएको छ ।

असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रीय कारागारले बताएको छ । घटनाका विषयमा जानकारी दिन आज भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मीप्रसाद बास्कोटाले तीनदिनदेखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरु रहेको, सुन्निएको तथा मुख र नाकबाट तरल पदार्थ देखिएको बताउनुभयो ।

शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा शवमा सो लक्षणहरु देखिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले सीसीभीटी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको र बाँकी पोष्टमार्टम रिपोर्टपछि थाहा हुने बताउनुभयो ।

वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पु¥याइएका जैसवाल जीवित रहेको कुनै पनि लक्षण नरहेको बताउनुभयो । अस्पतालमा कुनै पनि प्रकारको उपचार नभए पनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रह अनुसार पीसीआर परीक्षण गरिएको बताउनुभयो ।

वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मी मौसम भएकाले शव सुन्निने, फोका आउने, विभिन्न भागमा दाग देखिएको बताउनुभयो । बाहिर आएजस्तो शरीरमा कुनै चोटपटक भएको, आँखा निकालिएको भन्ने कुरा सही नभएको उहाँले बताउनुभयो ।

अस्पतालको फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठले तीन दिनपछि शव सुन्निएको, फोकाहरु देखिएको, मुख सुन्निएर चिन्नै नसकिने अवस्था भएको, जिब्रो बाहिर निकालेको र मुख र नाकबाट रगत बगेको देखिएको बताउनुभयो । भित्रि समस्या के थियो भन्ने कुरा पोष्टमार्टमपछि थाहा हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *