Main News

क्लिन फिड लागू हुँदा यति धेरै फाइदा तर….(भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ५ गते २०:२२
क्लिन फिड लागू हुँदा यति धेरै फाइदा तर….(भिडियोसहित)

५ असोज, २०७७ काठमाडौं । २०७६ साल कार्तिक ८ गतेनै राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐन कार्यान्वयनमा आइसके पनि नियमन गर्ने निकाय विज्ञापन बोर्ड गठन नहुँदा क्लिन फिड लगायतका धेरै प्रावधान कार्यान्वयनमा आएका छैनन् । ऐन बनेको १ वर्ष पुग्न लाग्दा पनि क्लिन फिड किन लागू हुन सकेन ? क्लिन फिड लागू भए के फाइदा हुन्छ ?

क्लिन फिड लागू भएपछि विदेशी च्यानल विज्ञापन रहित हुनेछन् । अहिलेजस्तो हरेक सामग्रीका बीचमा विज्ञापन हेर्नुपर्ने छैन् । यति मात्र हैन् विदेशी विज्ञापनलाई नेपाली सञ्चारमाध्यमले डबिङ् गरी प्रशारण गर्न पनि पाउने छैनन् ।

यदि कुनै विदेशी कम्पनीका वस्तुको प्रचार प्रसार र प्रवर्द्धन गर्नु परे अब नेपाली विज्ञापन एजेन्सीमार्फत नै विज्ञापन बनाउनु पर्नेछ । यसरी नेपालमै विज्ञापन बनाउँदा विज्ञापन एजेन्सीलाई त प्रत्यक्ष फाइदा हुन्छ नै, निर्माणमा जोडिएका कलाकार, डिजाइनर, कन्टेन्ट राइटर सबैको लागि अवसरको ढोका खुल्नेछ ।

अहिले विदेशी च्यानलमार्फत विदेशी विज्ञापन प्रशारण हुँदा राज्यको खातामा कुनै राजश्व आएको छैन । क्लिन फिड लागू भए आम नागरिकदेखि सरकारसम्मलाई फाइदा पुग्नेछ । तर फाइदा हुने भएपनि स्वार्थी समूहको चलखेलका कारण ऐन बनेको १ वर्षसम्म पनि यो व्यवस्था लागू हुन सकेको छैन ।

त्यसैले अहिले सरकारमाथि नै प्रश्न उठेको छ । यद्यपि तालुकदार मन्त्रालय भने काम गरिरहेको र चाँडै क्लिन फिड कार्यान्वयनमा आउने बताइरहेको छ ।

क्लिन फिडले समग्रमा फाइदा हुने भएपनि केबल टेलिभिजन सेवा प्रदायक भने यसको विरोधमा छन् । किनकी अहिले भारतकै भनेर सेट गरेका झण्डै १ सय ४० विदेशी च्यानल अपलिंक गरेर पठाइँदै आएको छ जसले गर्दा मूल्य सस्तो छ ।

तर क्लिन फिड लागू भए छुट्टै स्याटेलाइट प्रयोग गर्नु पर्ने र त्यसको मुल्य महँगो पर्ने उनीहरुको तर्क छ । त्यसैले स्वदेशी टेलिभिजनलाई प्रवर्द्धन गर्न पनि विदेशी च्यानलमा नेपाली विज्ञापन हाल्न पाउनुपर्ने माग उठेको छ । तर त्यसो गर्दा क्लिन फिडको कुनै महत्व नहुने भन्दै संसदीय समितिले भने त्यो नीति नलिन पनि सरकारलाई सचेत गराइसकेको छ ।

कार्तिक ८ गते ऐन कार्यान्वयमा आएको १ वर्ष पुग्छ । एक वर्षसम्म सुस्ताएको सरकार बोर्ड गठन गर्न बल्ल तातेको छ । उता केबल टेलिभिजन सेवा प्रदायकको असन्तुष्टि कायमै छ । यस्तोमा क्लिन फिड कहिलेबाट लागु हुन्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *