Main News

विदेशमा समस्यामा परेका नेपालीको उद्धारमा उडान थप गर्न विदेशस्थित राजदूतहरुको माग

हिमालय टिभी
२०७७ असोज ५ गते १८:४५
विदेशमा समस्यामा परेका नेपालीको उद्धारमा उडान थप गर्न विदेशस्थित राजदूतहरुको माग

५ असोज, २०७७ काठमाडौं । विभिन्न देशका राजदूतहरुले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकहरुको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव दिएका छन् ।

कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौ नेपाली फर्किन तयार रहेकाले उडान संख्या बढाउनुपर्ने सुझाव राजदूतहरुको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा राजदूतहरुले विदेशमा नेपाली कामदारको अवस्थाका विषयमा समेत जानकारी गराएका छन् ।

मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किएपनि अझै करिब ८ हजार फर्किने तयारीमा रहेको बताउनुभयो । स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरुको भिसा अवधि सकिने गरेको उहाँले बताउनुभयो ।

दर्शै तिहारको समय नजिकिँदै गर्दा चाप बढ्न सक्ने भएकाले एक हप्तामा १६ वटा नियमित उडान आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको बताउनुभयो । अव्यवहारिक निर्देशिका अनुसार समस्यामा परेका नागरिकहरु घर फर्किन नपाएको उहाँले बताउनुभयो ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फर्किन चाहने नेपालीहरुको संख्या धेरै नभएपनि समस्यामा परेकाहरुलाई पूर्ण रुपमा पीसीआर परीक्षण गरी पठाउने गरिएको बताउनुभयो । करिब १४ सय जना अहिलेसम्म नेपाल फिर्ता भएको उल्लेख गर्दै उहाँले सकेसम्म निरोगी व्यक्तिहरुलाई आफ्नो देश फर्काउनुपर्ने नीति अनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काउने गरिएको बताउनुभयो ।

कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेकोमा कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएको बताउनुभयो । अहिलेसम्म करिब ५४ सय जना नेपाली स्वदेश फर्किको उहाँले बताउनुभयो ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदारहरुले समस्या भोगिरहेको बताउनुभयो । उहाँले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई तत्काल उद्धार गर्न नसके समस्या उत्पन्न हुन सक्ने बताउनुभयो । २० हजार बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएको उल्लेख गर्दै उहाँले अझै प्रतिदिन १ सय ५०ले बढेको उहाँले बताउनुभयो । दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाडको समयमा फर्किन चाहनेहरुसमेत समस्यामा पर्ने उहाँले बताउनुभयो ।

साउदी अरेबियाका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएको बताउनुभयो । उडानका लागि नेपालका सम्बन्धित अधिकारीहरुले आवश्यक समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको बताउनुभयो । स्वदेश फर्किन विमानस्थल पुगेका नागरिकहरुलाई अन्तिम समयमा आएर काठमाडौंबाट उडान स्थगित भएको भन्ने जानकारी आउँदा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णयअनुसार चार्टर्ड उडानमार्फत नेपालीहरुलाई स्वदेश फर्काउने गरिएको बताउनुभयो । अहिलेसम्म ११ सयलाई स्वदेश फर्काइएको उल्लेख गर्दै उहाँले दशैको समयमा चाप बढ्न सक्ने बताउनुभयो ।

नेपालमा नै सम्बन्धि देशहरुसँगको श्रम सम्झौता अनुसार नेपालमा नै सीप सिकाएर पठाउनुपर्ने छलफलमा सहभागी राजदूतहरुले बताएका छन् । विशेषगरी घरेलु कामदारलाई आफू जाने देशको प्रचलित कानून र भाषाको ज्ञान नहुँदा पनि समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *