Main News

आजदेखि आन्तरिक हवाई उडान खुला, यस्ता छन् नयाँ नियम

हिमालय टिभी
२०७७ असोज ५ गते ७:५६
आजदेखि आन्तरिक हवाई उडान खुला, यस्ता छन् नयाँ नियम

५ असोज, २०७७ काठमाडौं । आजदेखि आन्तरिकतर्फका हवाई उडान सुरु हुने भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालेका छन् ।

सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको थियो ।

तर कुल उडान क्षमताको आधा मात्रै यात्रु राख्नुपर्ने प्रावधानका कारण वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेको थियो ।

आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछन् तर पूर्ण सिट क्षमतामै जहाज उड्नेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ ।

विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।

यात्रुले पालना गर्नुपर्ने नियम
· सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ ।
· विमानस्थल भित्र कम्तिमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।
· इ-टिकेटबाट चेकइन हुनेछ ।
· आफ्नो व्यागेजसँगै लैजान पाइने छैन, महिलाको हृयाण्डक्यारी र ल्यापटप ब्यागबाहेक अन्य ब्याग विमान भित्रै लैजान निषेध गरिएको छ ।
· सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
· विमानभित्र हिँडडुल गर्न निषेध गरिएको छ ।
· शौचालय विमानस्थलमै प्रयोग गरि जहाज चढ्नुपर्नेछ ।
· कोभिड १९ को लक्षण देखिएको यात्रुलाई हवाई यात्रुलाई निषेध गरिएको छ ।
· मास्क र फेससील यात्रुले यात्रा अवधिभर लगाउनु पर्नेछ ।

विमान र कर्मचारीले अपनाउनुपर्ने नियम
· र्‍याम्प बसमा यात्रुलाई सामाजिक दूरी कायम गराई बसाउनु पर्नेछ ।
· ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान तथा अन्य सवारी साधन हरेक पटक प्रयोगपछि स्यानिटाइज गर्नु पर्नेछ ।
· पटक पटक प्रयोगमा आइरहने ढोकाका हृयाडल तथा स्ट्याण्डहरु पटक पटक स्यानिटाइज गर्नुपर्छ ।
· यात्रुलाई विमानभित्र र बाहिर लैजाँदा एक पटकमा चार जनालाई मात्र लैजानु पर्छ ।
· यात्रुहरुलाई फेससील वितरण गर्नुपर्नेछ ।
· हरेक उडानपछि विमानस्थललाई सरसफाई गर्नुपर्छ ।
· सबै कर्मचारीले अनिवार्य मास्क लगाई यात्रुसँग सामाजिक दूरी कायम गरी सेवा दिनुपर्नेछ ।
· हरेक कर्मचारीको दैनिक कार्यालय प्रवेशसँगै तापक्रम नाप गरिनेछ ।
· हरेक कर्मचारीलाई सुरक्षित सेवा सम्बन्धमा नियमित तालीम तथा आवश्यक सुरक्षा सामग्री प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *