राजनीति

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पूनर्गठनका लागि तयार, यस्ता तीन विकल्प पेश (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ४ गते २०:०४
प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पूनर्गठनका लागि तयार, यस्ता तीन विकल्प पेश (भिडियोसहित)

४ असोज, २०७७ काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद पूनर्गठनको प्रक्रिया ठोस रुपमा अघि बढेको छ । पहिले पूनर्गठन अस्वीकार गर्दै आएका प्रधानमन्त्री ओलीसमेत विकल्पसहित मन्त्रिपरिषद पूनर्गठन गर्न पार्टीभित्र सहमत भएपछि यो प्रक्रिया औपचारिक प्रक्रियामा प्रवेश गरेको छ । मन्त्रिपरिषद हेरफेरका विभिन्न विकल्पमा नेकपाभित्र छलफल भएको छ ।

केही दिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पूगर्नठनका लागि तयार हुनुहुन्थेन । किनकी खालि भएका मन्त्रालयमा मात्रै नयाँ मन्त्री नियुक्त गर्ने उहाँको अडान थियो । तर आईतवार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली त्यो अडानबाट पछि हटेर मन्त्रिपरिषद पूनर्गठनका लागि तयार हुनुभयो । जसका लागि लागि ओली आफैले तीन वटा विकल्प पेश गर्नुभएको छ ।

ओलीका तीन विकल्प

१. अहिलेका सबै मन्त्रीलाई हटाउने

२. शुरुमा मन्त्री भएकालाई हटाउने

३. केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने

ओलीका तीन प्रस्तावसँगै बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका तीनवटा मोडेलमा छलफल भएको छ। पहिलो शुरुमा मन्त्री भएका सबैलाई बिदाइ गर्ने, दोस्रो दुई वर्ष पूरा गरेकालाई बिदाइ गर्ने र तेस्रो विकल्पका रुपमा कार्य सम्पादनको मूल्याकनका आधारमा हेरफेर गर्ने।

कामका आधारमा हेरफेर गर्ने अधिकांशको प्रस्ताव
नौ सदस्यीय सचिवालयमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठले कार्यसम्पादनका आधारमा मन्त्री हेरफेर गर्ने प्रस्ताव गर्नुभएको छ ।

बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । तीन वटा विकल्प पेश गरेपनि स्वयं प्रधानमन्त्री ओली पनि सबैलाई हटाउन नहुने पक्षमा हुनुहुन्छ । सबै मन्त्रीलाई हटाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्ने र र धेरै नयाँ राख्नु उपयुक्त हुने अधिकांश नेताहरुको मत छ ।

केही वरिष्ठ वा पहिला राम्रो काम गरेकालाई निरन्तरता दिने, धेरै पटक चुनाव लडेर मौका नपाएका, जातीय, क्षेत्रीय,भाषिक र साँस्कृतिक रूपमा पनि मिलाउने तथा समावेशी बनाउनुपर्ने विषय पनि उठेको छ ।

ओलीको योजना
ओलीले तीन विकल्प अघि सारेपनि उहाँको चाहना सकेसम्म कम मन्त्री हटाएर हेरफेर गर्ने तयारीमा हुनुहुन्छ । अहिले तीनवटा मन्त्रालय खाली रहेको र दुईवटा थपेर पाँचवटा खाली बनाउने तथा केही मन्त्रीलाई बिदाइ गरेर नयाँलाई अवसर दिने योजना प्रधानमन्त्रीको छ ।

विभिन्न मोडलमा छलफल गरेर सचिवालयले त्यसलाई अन्तिम रुप दिएपछि मन्त्रिपरिषद पूनर्गठन हुनेछ । तर मन्त्रिपरिषद् हेरफेरको निष्कर्षमा पुगेको नेकपाले कस्तो मापदण्ड बनाउँछ केही दिनमै प्रष्ट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्