राजनीति

पेरिसडाँडामा बैठक राखेर प्रचण्डले दिए यस्तो सन्देश (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ४ गते २०:०१
पेरिसडाँडामा बैठक राखेर प्रचण्डले दिए यस्तो सन्देश (भिडियोसहित)

४ असोज, २०७७, काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताभएपछि धेरै जसो बैठक प्रधानमन्त्री निवास बालुवाटार र एकाध बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेका छन् ।

प्रशस्त ठाउँ हुँदा हुँदै पनि पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक हुने गरेका थिएनन् । पार्टी एकतालगत्तै धुम्बाराहीका साथै पेरिसडाँडाको कार्यालयलाई नेकपाले केन्द्रीय कार्यालयको रुपमा घोषणा गरेको थियो।

केही समयपछि पेरिसडाँडामा जनवर्गीय संगठनको मात्र केन्द्रीय कार्यालय राख्ने निर्णय नेकपाले गर्‍यो। त्यसपछि पेरिसडाँडा सुनसान जस्तै हुने गरेको थियो । तर प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि आफ्नो भूतपूर्व कार्यालयमा नेकपाको बैठक राख्नुभयो । यसबाट प्रचण्डले केही सन्देश दिन खोजेको देखिन्छ ।

प्रचण्डद्वारा कार्यकारी अधिकार प्रयोग
गत भदौ २६ गते नेकपाको स्थायी कमिटीले वास्तविक रुपमै प्रचण्डलाई पार्टीको ‘कार्यकारी अधिकार’ सुम्पेको छ। त्यसैले पेरिसडाँडामा बैठक डाकेर प्रचण्डले कार्यकारी अधिकार प्रयोग गरेको सन्देश दिन खोज्नुभएको छ । प्रचण्ड कार्यकारी अध्यक्ष बनेको स्थितिमा बालुवाटारमा बैठक बस्दा फेरि प्रधानमन्त्री ओलीको छायाँमा पर्न सक्ने संंभावना थियो । आफै कार्यकारी अध्यक्ष भएको स्थितिमा फेरि बैठकका लागि बालुवाटार जानु पर्दा प्रचण्डको कार्यकारी भूमिकामा प्रश्न उठ्ने थियो । त्यसैले त्यो चिर्न पनि प्रचण्डले पेरिस डाँडा रोज्नुभएको छ ।

एकताको सन्देश
पेरिसडाँडा बैठकबाट पार्टीभित्रको विवाद तत्काल हल भएको अर्को सन्देश पनि दिन खोजिएको छ । यसबाट पार्टीमा उत्साह थपिने विश्वास छ । पूर्व माओवादी धाराका आफ्नै सहयात्रीलाई माओवादी केन्द्र एमालेमा विलय होइन, एकता भएको हो भनेर विश्वास दिलाउने प्रचण्डको प्रयासका रुपमा पनि यसलाई हेरिएको छ । किनकी धुम्बाराहीमा गतिविधि हुने र पेरिसडाँडामा शून्य हुने अवस्थालाई कतिपयले पार्टीभित्र विलयको अर्थका रुपमा व्याख्या गरेका थिए ।

पार्टीले सरकार चलाउन खोजेको सन्देश
नेकपामा पार्टी र सरकारबीचको सम्बन्ध राम्रो थिएन, प्रधानमन्त्रीका कदम र निर्णय विवादमा पर्ने गरेका थिए । पार्टीमा कुनै सल्लाह नगरेको भनेर प्रधानमन्त्री ओलीको आलोचना हुने गरेको थियो । ओलीमाथि पार्टी विधि पद्धति नमानेको र पार्टीमाथि सरकारलाई हावी गराउन खोजेको आरोप पनि लाग्दै आयो ।

लामो समयसम्म नेकपामा पार्टीले सरकार चलाएको कि सरकारले पार्टी भनेर बहस समेत भयो । पेरिसडाँडामा बैठक राखेर प्रचण्डले सरकार चलाएको सन्देश दिन खोज्नुभएको छ । पेरिसडाँडामा ओलीको सहज उपस्थिति, मन्त्रिपरिषद् पूनर्गठन, विभिन्न राजनीतिक नियुक्तिमा पार्टी कमिटीसँगको छलफल त्यसैको संकेत हो ।

आरोपबाट मुक्ति पाउने प्रयास
बालुवाटारमा बैठक गरेर नेकपाले प्रधानमन्त्री निवासलाई पार्टी कार्यालय बनाएको आरोप खेपिरहेको थियो। नेकपाकै नेताहरुले पनि बालुवाटारमा बैठक राख्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए । र, जनस्तरबाट पनि व्यापक आलोचना भैरहेको थियो । पेरिसडाँडामा बैठक बसेर नेकपाले त्यो आरोपबाट मुक्ति पाउने प्रयास गरेको छ ।

प्रधामन्त्री ओलीले बालुवाटारमा बैठक बोलाउने तर, अनुपस्थित हुने, उपस्थित हुँदा पनि २–३ घण्टा ढिलो गरेको ओलीमाथि आरोप थियो । गत मंसिरमा त झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ढिलो गरेको भनेर बैठक नै बहिस्कार गर्नुभएको थियो । तर आज प्रधानमन्त्री ओली पेरिसडाँडाको बैठकमा केही समय ढिला पुगेपनि पूरै समय बस्नुभयो ।

पेरिस डाँडामा बैठक डाकेर प्रचण्डले विभिन्न सन्देश त दिन खोज्नुभएको छ, त्यो कति दीगो र फलदायी हुन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्