आर्थिक

बढ्यो निर्यात, घट्यो व्यापार घाटा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २ गते २०:५३
बढ्यो निर्यात, घट्यो व्यापार घाटा (भिडियोसहित)

२ असोज, २०७७ काठमाडौं । भन्सार विभागको पछिल्लो तथ्यांकले कोरोना महामारीका माझ मुलुकको वैदेशिक व्यापारमा सुधार भएको देखिएको छ । साउन र भदौको वैदेशिक व्यापारमा आयात २२ दशमलव ७ प्रतिशतले घटेको छ भने निर्यात १० प्रतिशतले बढेको छ । यसबाट साउन र भदौमा व्यापार घाटामा २६ प्रतिशतको कमी आएको छ ।

भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षको पहिलो २ महिनामा वैदेशिक व्यापारमा ४९ अर्ब रुपैयाँको संकुचन देखिएको छ ।

साउन र भदौमा १ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको साउन र भदौमा २ खर्ब ४८ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको थियो । साउन र भदौमा १ खर्ब ७८ अर्ब ८४ करोड रूपैयाँको मालवस्तु आयात भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ७ प्रतिशतले कम हो । गत वर्षको साउन र भदौमा २ खर्ब २९ अर्ब ५० करोड रूपैयाँको मालवस्तु भित्रिएको थियो । यस्तै भदौमा गरिएको निषेधाज्ञाले माग घटाउँदा त्यसको प्रभाव आयातमा देखिएको छ ।

आयात घट्दा साउन र भदौमा निर्यात १० प्रतिशतले बढेको छ । गत वर्षको साउन र भदौमा १८ अर्ब ५० करोड रूपैयाँ बराबरको मालसामान निर्यात भएको थियो । तर यस वर्षको साउन र भदौमा २० अर्ब ४४ करोड रूपैयाँको निर्यात भएको छ ।

आयात र निर्यातको यो आँकडाबाट साउन र भदौमा मुलुकलाई १ खर्ब ५८ अर्ब रूपैयाँको व्यापार घाटा भएको छ । यद्यपी पोहोरको तुलनामा व्यापार घाटा ५३ अर्ब रुपैयाँले घटेको छ । गत वर्षको साउन र भदौमा व्यापार घाटा २ खर्ब ११ अर्ब रूपैयाँ थियो ।

चैतअघि मासिकरुपमा १ खर्ब रुपैयाँ बढीको मालबस्तु भित्रिने गर्थ्यो । तर कोरोना महामारीका कारण चैतयता मासिक आयातको आँकडा अर्बमा सीमित हुन थालेको छ ।

चैतयता बन्द सार्वजनिक यातायातका कारण पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपुर्जाको आयात घटेको छ । यसैका कारण वैदेशिक व्यापारसँगै व्यापार घाटामा समेत सुधार देखिएको हो । तर वैदेशिक व्यापारमा आएको ‍कमीको सिधा असर भने भन्सारतर्फको राजस्व संकलनमा परेको छ ।

वैदेशिक व्यापार घट्दा गत वर्षको तुलनामा यो वर्षको साउन र भदौमा भन्सार राजस्व १५ अर्ब ८ करोड रुपैयाँले घटेको छ । गत वर्ष यहि अवधिमा भन्सारतर्फ ६२ अर्ब ९१ करोड रूपैयाँ राजस्व संकलन भएकोमा यसपाली ४७ अर्ब ८३ करोड रूपैयाँ मात्रै भएको छ । विभागले सार्वजनिक गरेको यो आँकडाले वैदेशिक व्यापार पुरानै लयमा फर्कन अझै समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *