आर्थिक

भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य ह्वात्तै बढ्यो

हिमालय टिभी
२०७७ भदौ ३१ गते ९:४१
भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य ह्वात्तै बढ्यो

३१ भदौ, २०७७ काठमाडौं । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ ।

कालिमाटी थोक बजारमा प्याजको मूल्य आज एक दिनमै ४४ रुपैयाँ बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्य सोमबार प्रतिकेजी ६० रुपैयाँ रहेकोमा हिजो मूल्य बढेर ७५ रुपैयाँ पुगेको थियो ।

आज प्रतिकेजी ४४ रुपैयाँले बढेर ११९ रुपैयाँ पुगेको समितिले जनाएको छ । भारतले सोमबार निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य बढेको हो । भारतको उद्योग तथा आपूर्ति मन्त्रालयले प्याजको उत्पादन हुने क्षेत्रमा भारी वर्षा हुँदा उत्पादनमा कमी आएकोले निर्यातमा रोक लगाएको जनाएको छ ।

दशैं अगाडि प्याजको मूल्यमा भएको वृद्धिले यो मूल्य अझै बढ्न सक्ने देखिएको छ । कालीमाटी बजार विकास समितिका अनुसार भारतबाट मात्रै ९९ प्रतिशत प्याज आयात हुने गरेको छ ।

सोमबार कालीमाटीमा मात्रै ३५ टन प्याज आयात भएको थियो । त्यस्तै साउनदेखि आजसम्ममा ३८ सय टन प्याज आयात भएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिनुभयो ।

अधिकांश शहरमा भारतबाट आयात भएको प्याज खपत हुने गरेको छ । भारतले अघिल्लो वर्ष पनि यही समयमा पनि प्याज निर्यातमा रोक लगाएको थियो ।

यसैबीच बढी मूल्यमा प्याज बेचेको अभियोगमा आज बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले व्यावसायी सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।

टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ । उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ ।

अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *