Main News

बहराइनका राजकुमार खलिफासहितको टोली हिमाल आरोहण गर्न आज नेपाल आउँदै

हिमालय टिभी
२०७७ भदौ ३१ गते ७:३४
बहराइनका राजकुमार खलिफासहितको टोली हिमाल आरोहण गर्न आज नेपाल आउँदै

३१ भदौं, २०७७ काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि आज नेपाल आउँदै छ ।

सरकारले राजकुमार खालिफाको टोलीलाई चार्टर उडानमार्फत् काठमाडौं आउन अनुमति दिएको हो । यो आरोहणको जिम्मा नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ ।

लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने राजकुमार खालिफाको तयारी छ । सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार उक्त टोलीले चैत–वैशाखको वसन्तकालीन सिजनमै हिमाल आरोहण गर्न चाहेको थियो । कोरोना महामारी र नेपालमा लकडाउनका कारण अभियान शरदकालीन याममा सरेको हो ।

राजकुमारको टोली काठमाडौंमा केही दिन बसेपछि असोज पहिलो साता लुक्ला जानेछ । त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम छ ।

शेर्पाका अनुसार लोबुचे आरोहणपछि हेलिकप्टरमा यो टोली उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोझै फर्किनेछ । राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइनेछ ।

जसमा सर्वाधिक २४ औं पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिना अक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली आरोही टासी लाक्पा शेर्पा, संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहनेछ ।

यो आरोहण अभियानमा करिब १ सय ५० जना शेर्पा प्रत्यक्ष संलग्न हुने सेभेन समिटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *