Main News

निषेधाज्ञाको विरोधमा काठमाडौंको कोटेश्वरका व्यापारीद्वारा प्रदर्शन

हिमालय टिभी
२०७७ भदौ ३० गते १२:५१
निषेधाज्ञाको विरोधमा काठमाडौंको कोटेश्वरका व्यापारीद्वारा प्रदर्शन

३० भदौ, २०७७ काठमाडौं । निषेधाज्ञाको विरोधमा काठमाडौंको कोटेश्वरका व्यापारीहरुले प्रदर्शन गरेका छन् ।

लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले आज बिहान प्रदर्शन गरेको हो । अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने संघको माग छ ।

करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै ठूलो समस्यामा फस्न लागेको संघका अध्यक्ष सरोज थापाले बताउनुभयो ।

सधैं घरभित्र थुने कोरोनाभन्दा पनि भोकले मर्ने अवस्था आउने भन्दै अब सहज बनाउनुपर्ने अध्यक्ष थापाको माग छ । बन्दाबन्दी अवधीभरको बैंक तथा वित्तीय संस्थाहरुको ब्याज मिनाहा गर्नुपर्ने, करको जरिवाना मिनाहा गर्नुपर्ने, घरभाडामा सहुलियत दिनुपर्ने लगायतका मागहरु संघले अघि सारेको छ ।

बन्दाबन्दीका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै विभिन्न मागहरु राखेर नेपाल राष्ट्रिय व्यवसायी महासंघ पनि आन्दोलनमा छ । केही दिनयता महासंघले सरकार तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाउँदै आएको छ ।

यसैबीच लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म आज बिहान प्रदर्शन गरिएको हो । उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *