Main News

दोषीमाथि कारबाही माग गर्दै कैलालीका पत्रकार आन्दोलित (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २९ गते १८:३७
दोषीमाथि कारबाही माग गर्दै कैलालीका पत्रकार आन्दोलित (भिडियोसहित)

२९ भदौ, २०७७ धनगढी । सञ्चारकर्मीको काम हो नागरिकलाई सुसुचित गर्ने, अन्याय, अत्याचार र अनियमितताका विरुद्ध आवाज उठाउने । तर तिनै सञ्चारकर्मी र सञ्चारमाध्यमाथि पटकपटक आक्रमण हुने गरेको छ ।

तर, आक्रमणकारीलाई कारवाही गर्न राज्यले चसो दिने गरेको छैन । पछिल्लो पटक धनगढीमा भएको घट्नामा पनि त्यस्तै भैरहेको छ । यसले आक्रमणकारी दुरुत्साहित हुने र पत्रकारले असुरक्षित महशुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

गत शुक्रवार मध्यान्ह १२ बजेतिर धनगढीको दिनेश सञ्चार गृहमा प्रवेश गरी एउटा समूहले पत्रकारमाथि आक्रमण गर्‍यो । समाचार कक्षमा समाचार लेखिरहेका सहायक सम्पादक जनक विष्टसहितका पत्रकार, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिंहमाथि कुटपिट भयो । कुटपिट गर्नेहरु भिडियोमा प्रष्ट देखिन्छन् । तर उनीहरु कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।

प्रहरी हिरासतमा रहेका रोशन विकले आत्महत्या गरेको भनेर प्रहरीले नै दिएको जानकारीका आधारमा समाचार बनाउने पत्रकार कुटिएका थिए । कसैले गलत समाचार लेखेमा त्यसलाई सच्याउने र सुधार्ने प्रकृया छन् ।

सञ्चार माध्यमले गलत नै गरेको भए पनि उसलाई कारबाही गर्ने निकाय छन् । तर समाचार लेखेकै कारण सञ्चार माध्यम र पत्रकारमाथि यसरी आक्रमण भैरहेको छ । त्यसो त कैलालीमा पत्रकारमाथि आक्रमण भएको यो पहिलो हैन ।

यसअघि लक्ष्मी जैसी, लोकेन्द्र विष्ट, जनक विष्ट, गणेश चौधरीमाथि पनि आक्रमण भएको थियो । तर आक्रमणमा संलग्न कोही पनि पक्राउ परेनन् । उनीहरुमाथि कारवाही नहुँदा फेरि दिनेश संचार गृहमा आक्रमण भयो । त्यसैले हरेक चोटी पत्रकार कुटिएपछि दोषीमाथि कारबाहीको माग गर्दै पत्रकार सडकमा उत्रिनुपर्ने बाध्यता छ ।

पत्रकार समाचार लेखेकै कारण कुटिने र कुट्नेको पहिचान भइसकेपनि पक्राउ नपर्ने हुँदा आक्रमण बढ्दो छ । पत्रकारमाथि आक्रमण गर्नेलाई राजनीतिक संरक्षण पनि हुने गरेको छ । पत्रकार र संचार माध्यममाथि यसरी आक्रमण भइरहने तर दोषीलाई कारबाही नहुने हो भने सामाजिक मुद्दा नै ओझेल पर्ने खतरा छ ।

यो वा त्यो बहानामा पत्रकार र सञ्चार माध्यममाथि आक्रमण हुनु गलत हो । तर गलत काम गर्नेलाई कानूनी कारबाही नहुनु झन निन्दनीय छ । त्यसैले दोषीलाई छिटोभन्दा छिटो कारवाही गरी पत्रकारले निर्भिकतापूर्वक काम गर्ने वातावरण बन्नुपर्छ । सरकारले यसमा ध्यान देओस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *