Main News

धरान, बुटवल र चितवनमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २९ गते ९:५६
धरान, बुटवल र चितवनमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु

२९ भदौ, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट धरान, बुटवल र चितवनमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कुनै पनि दीर्घ रोग नभएका ४० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती पुरुषको आइतबार राति करिब ९ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।

यसअघि आइतबार दिउँसो बिराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

त्यस्तै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा आज बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको बिरामी रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

नवलपरासीको गैंडाकोट नगरपालिका-९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

कोभिड सघन उपचार कक्षमा राखिएकी उनको उपचारका क्रममा आइतबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

योसँगै चितवनका अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

दुई वृद्धाको घरमै मृत्यु भएको थियो। चितवनका १७, मकवानपुरका ५, नवलपरासी सुस्तापूर्वका ४, बारा, गोरखा र कैलालीका एकएक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *