Main News

विदेशमा अलपत्र नेपालीलाई एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

हिमालय टिभी
२०७७ भदौ २८ गते १८:२८
विदेशमा अलपत्र नेपालीलाई एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

२८ भदौ, २०७७, काठमाडौं । सरकारले कोही भोकै नपर्ने र भोकै नमर्ने दावी गरेपनि संसदीय समितिले कोरानाका कारण रोजगारी गुमाएका श्रमिक भोकै परेको ठहर गरेको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर श्रमिकको अवस्था दयनीय भन्दै उनीहरुलाई खानाको व्यवस्था गर्न सरकारलाई निर्देशन गरेको छ । समितिको आज बसेको बैठकले कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकले खान नपाएको ठहर गरेको हो ।

समितिले विदेशमा अलपत्र नेपाली श्रमिकलाई उद्धार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको छ ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आवश्यक समन्वय समेत नभएको समितिको ठहर छ । समितिले विदेशबाट आफै आउन नसक्ने गरी अलपत्र श्रमिकहरुको यथार्थ सूचना संकलन गरी त्यस्तालाई खर्च बेहोरेर ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ ।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र सबै नेपाली नेपालीलाई एक महिना भित्र उद्धार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिना भित्र ल्याउने गरी काम अगाडि बढाइएको दावी गर्नुभयो ।

आफ्नै खर्चमा आउन नसक्ने र कम्पनीले समेत खर्च नव्यहोर्नेलाई घर सम्म पुग्ने खर्चको व्यवस्थापन वैदेशिक लोककल्याणकारी कोषबाट व्यवस्थापन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *