आइसोलेसनमा फलफूल बोकेर प्रहरी पुग्दा कोरोना संक्रमित दङ्ग (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २७ गते १६:०८
आइसोलेसनमा फलफूल बोकेर प्रहरी पुग्दा कोरोना संक्रमित दङ्ग (भिडियोसहित)

२७ भदौ, २०७७, कपिलवस्तु । कोरोना संक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिक जसो सार्वजनिक भएका छन् । तर कपिलवस्तु प्रहरीले भने यस्ता घटना निरुत्साहित बनाउन आइसोलेसनमा रहेका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै फलफूल र स्वास्थ्य किट वितरण गरिरहेको छ ।

धेरै स्थानमा कोरोना संक्रमितलाई अवहेलना गरिएका खबर दिनहुँ आइरहन्छन् । तर कपिलवस्तुमा भने संक्रमितको हौसला बढाउन प्रहरी नै सक्रिय भइरहेको छ ।

कोरोना संक्रमणका कारण भदौ २२ गते मृत्यु भएका सञ्चारकर्मी बनारसी वर्माको घरमा पनि प्रहरी टोली पुग्यो र परिवारका संक्रमित सदस्यको स्वास्थ्य लाभको कामना गर्दै फलफूलसँगै स्वास्थ्य किट समेत दियो ।

कपिलवस्तु नगरपालिकाको आइसोलेसन र होम आइसोलेसनमा रहेका संक्रमितलाई अहिले प्रहरीले यसरी नै फलफूल र स्वास्थ्य किट वितरण गरिरहेको छ । यसमा प्रहरीलाई युएफएड र युनिसेफले सहयोग गरेको छ ।

अहिले आइसोलेसनमा रहेका कपिलवस्तु नगरपालिकाका संक्रमितलाई घरमै पुगेर हौसला दिने काम भइरहेको छ । यो कार्यक्रमलाई अन्य स्थानमा समेत विस्तार गर्ने प्रशासनको योजना छ ।

कपिलवस्तु जिल्लामा हालसम्म १२ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । तिमध्ये करिव दुई सय सक्रिय संक्रमित छन् ।

जिल्लामा ६३ जना सुरक्षाकर्मी समेत संक्रमित भएका छन् । संक्रमणको जोखिमकाबीच सुरक्षामा खटिएका प्रहरी अहिले संक्रमितको हौसला बढाउन पनि अघि सरेका छन् । यसलाई निकै सकारात्मक रुपमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *