बर्दियाको खैरेनी ढकेला र बाँसगढीमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता यसरी हट्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २६ गते १८:४८
बर्दियाको खैरेनी ढकेला र बाँसगढीमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता यसरी हट्दै (भिडियोसहित)

२६ भदौ, २०७७, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९ स्थित खैरेनी ढकेला र बाँसगढी नगरपालिकाको थुम्नी गरी तीन गाउँ नेटवर्क पुर्‍याउन नेपाल टेलिकमले टावर निर्माण थालेको छ । पर्यटकीय क्षेत्र समेत रहेको खैरेनी गाउँमा नेपाल टेलिकमले ५० मिटर अग्लो टावर बनाउन थालेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९ मा रहेका खैरेनी ढकेला र बाँसगढी नगरपालिकाको थुम्नी गरी तीन गाउँमा ८ सय घरपरिवार छन् । तर उनीहरु सञ्चारको सहज पहुँचमा छैनन् । बसेकै ठाउँमा मोबाइलको नेटवर्क नआउँदा उनीहरुले फोन गर्नका लागि घरको छतमा र रुखमा चढ्नुपर्छ ।

उनीहरुको यो समस्या बुझेर नेपाल टेलिकमले तीन गाउँमा सञ्चार सेवा पुग्ने गरी टावर निर्माण शुरु गरेको छ । यो टावर निर्माण पूरा भएपछि अब छिट्टै यहाँ सेवा विस्तार हुने छ ।

बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिकाका करिब ८ सय घर धुरीलाई यो टावरले सञ्चार सुविधा दिने छ । बर्दिया जिल्ला कै चर्चित प्राकृतिक ताल सत्खलुवा ताल र खैरेनी गाउँमा रहेको सत्खलुवा होमस्टेमा पर्यटकको चाप बढ्दै गएको छ ।

आन्तरिक र बाह्य पर्यटकको उपस्थिति रहने ठाउँमा सञ्चारको सुविधा नहुँदा सास्ती हुने गरेको थियो । अब भने सत्खलुवा ताल घुम्न आउने पर्यटक सञ्चार सुविधामा जोडिने छन।

सञ्चारको पहुँच सँगै यस क्षेत्रमा आउने पर्यटक पनि बढ्ने अपेक्षा छ । सञ्चारको सुविधा पाउने भएपछि तीनओटै गाउँका बासिन्दा हर्षित छन् । विरामी पर्दासमेत एम्बुलेन्स बोलाउन समस्या नहुने स्थानीयबासिन्दालाई लाई आशा जागेको छ । उनीहरुले छिट्टै टावर निर्माण सम्पन्न गरेर सेवा दिन माग गरेका छन ।

चारैतिर जंगल भएको हुनाले ५० मिटर अग्लो टावर बनाउन शिलान्यास गरिएको छ । ढिलोगरी शुरु भए पनि टेलिकमबाट समयमै काम सम्पन्न भइ सेवा पाउने नागरिकको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *