Main News

आत्महत्या गर्नुकाे कारण के हाे ? प्रयास गरेकाहरु यसाे भन्छन् (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २५ गते २०:२८
आत्महत्या गर्नुकाे कारण के हाे ? प्रयास गरेकाहरु यसाे भन्छन् (भिडियोसहित)

२५ भदौ, २०७७, काठमाडौं । आत्महत्यालाई विभिन्न कोणबाट व्याख्या गर्ने गरिएको छ । जीवनबाट हार खाएर, एक्लिएर, धोका पाएर, तनाव खप्न नसकेर, व्यवसायमा घाटा भएर मानिसले आत्महत्या गर्ने धेरैको बुझाइ छ । तर पटक पटक आत्महत्याको प्रयास गरेर पनि बाँचेकाहरु भने यी सबलाई कारण ठान्दैनन् ।

विगत ६ वर्षको आत्महत्याको श्रृंखला
आर्थिक वर्ष ०७१–०७२ः ४ हजार ३ सय ३२ जना
आर्थिक वर्ष ०७२–०७३ : ४ हजार ६ सय ८० जना
आर्थिक वर्ष ०७३–७४ : ५ हजार १ सय २४ जना
आर्थिक वर्ष ०७४–७५ : ५ हजार ३ सय ४६ पुग्यो
आर्थिक वर्ष ०७५–७६ : ५ हजार ७ सय ८५ जना
आर्थिक वर्ष ०७६–७७ : ६ हजार २ सय ७९ जना

काठमाडौंका २४ वर्षीय यी युवालाई केही वर्षअघिसम्म दिनहुँ जसो आत्महत्या गर्ने सोच आउँथ्यो । किनकी कम बोल्ने र प्राय शान्त रहने उनको स्वाभाव साथिभाइसँग र अन्य व्यक्तिसँग मिल्दैनथियो । त्यसैले उनी एक्लो महशुस गर्थे।

तर सामाजिक सञ्जालमा एक दिन उनले एउटा भिडियो भेटे । जुन भिडियोले उनको जीवनप्रतिको दृष्टिकोण नै बदलियो । अहिले उनी खुशी छन् र केही गर्ने हुटहुटीले भरिएका छन् ।

उनको जस्तै कथा छ झापाका ३५ वर्षीय अर्का पुरुषमा पनि । अन्तरजातीय विवाह गरेका उनलाई समाजको टोकसोले पटक पटक मृत्युको मुखसम्म पुर्‍यायो ।

उनको समस्या नजिकबाट बुझेका भाइले डिप्रेशनको सिकार भएको र काउन्सिलिङ गरे सबै ठिक हुने सुझाव दिए । भाइको सुझाव अनुसार उनले मनोविदसँग सम्पर्क गरे । कुनै समय बाँचेर केही हुँदैन भन्ने उनी अहिले धन्न त्यो बाटो रोजिनछु भन्ने सोच्छन् । र भागेर होइन लडेर समस्या जित्न सकिन्छ भन्ने ठान्छन् ।

काठमाडौं र झापाका यी दुई जना यस्ता भाग्यमानी हुन् जसले आत्महत्याको सोच आउनु मनोरोग हो भन्ने बेलैमा पत्ता लगाए र उपचार गरेर निको भए । तर सबैको भाग्य यस्तो हुँदैन ।

आफूमा भएको समस्या र त्यसको समाधान थाहा नपाउँदा नेपालमा हरेक दिन सरदर १७ जनाले आत्महत्या गर्छन् । नेपाल प्रहरीका अनुसार पछिल्लो ६ वर्षमा झण्डै ३० हजारले अप्राकृतिक मृत्युको बाटो रोजे ।

गत आर्थिक वर्षमा मात्र ६ हजार २ सय ७९ सयजनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ । ६ वर्षको तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष आत्महत्या बढिरहेको छ । र यो राज्यले मानसिक स्वास्थ्यलाई ध्यान नदिएको भैरहेको सरोकारवालाको बुझाई छ ।

मनोविद्को बुझाइमा मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्य सरह ठानेर र उपचार परामर्शमा ध्यान दिए आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । जसका लागि जनचेतनाको पाटो महत्वपूर्ण हुन्छ ।

पछिल्लो समय कोरोना भाइरसको सन्त्रास र त्यसले निम्त्याएको मानसिक समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मनोचिकित्सकसँग नै छलफल गर्नुभयो । जसले मानसिक स्वास्थ्यको पाटोलाई सरकारले ध्यान दिन थाल्यो भन्ने आभाष त भएको छ ।

तर राज्यले विशेष नीति र कार्यक्रमनै बनाएर अघि नबढ्दासम्म मानसिक समस्याका कारण निम्तिन सक्ने आत्महत्या लगायतका घट्ना रोक्न र न्यूनीकरण गर्न सहज हुनेछैन । त्यसैले राज्यले यसमा गम्भीरतापूर्वक छिटो कदम चाल्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *