समाज

थुनामा ज्यान गुमाएका परिवारबाट रौतहट प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दर्ता

हिमालय टिभी
२०७७ भदौ २४ गते १८:४२
थुनामा ज्यान गुमाएका परिवारबाट रौतहट प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दर्ता

२४ भदौ, २०७७, रौतहट । थुनामा ज्यान गुमाएका रौतहटका विजय महराको परिवारले तत्कालीन जिल्ला प्रहरी प्रमुख रविराज खड्का सहित ६ जनाविरुद्ध जाहेरी दिएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजयका बाबु पनिलालले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिनुभएको हो ।

पनिलालले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, प्रहरी नायव निरिक्षक वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिनुभएको छ ।

गाउँकै युवक निरन्जन राम हत्या आरोपमा साउन ३२ मा पक्राउ परेका विजय महराको हिरासतमै रहेका बेला उपचारका क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

घटनापछि प्रहरीले रौतहटका एसपी खड्कालाई फिर्ता बोलाएर अर्का एसपी सिद्धिबिक्रम शाहलाई पठाइसकेको छ । जाहेरी जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *