Main News

केही दिन वर्षाको क्रम बढ्ने, बाढीपहिरोको सम्भावना

हिमालय टिभी
२०७७ भदौ २३ गते १५:१५
केही दिन वर्षाको क्रम बढ्ने, बाढीपहिरोको सम्भावना

२३ भदौ, २०७७ काठमाडौं । आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नं १ देखि प्रदेश नं ५ सम्म नै मौसम बदली भहेको छ । हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि नेपाल नजिक (उत्तरतर्फ) सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ । आज बिहान तनहुँको स्याम्घा केन्द्रमा भारी वर्षा मापन भएको र थप पर्षा हुने देखिएकाले मादीलगायत साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशखाले जनाएको छ ।

यस्तै बिहान उदयपुर जिल्लाको उदयपुरगढी केन्द्रमा पनि भारी वर्षा मापन भएको र थप वर्षा हुने देखिएकाले त्रियुगालगायत साना नदीमा आकस्मिक बाढी हुने सम्भावना छ । त्यसको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्क रहन अनुरोध गरिएको छ ।

आज कोशी र नारायणी जलाधारका केही ससाना सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ । यस्तै कन्काई, कमला, वाग्मतीका ससाना नदीको जलाधारमा बहाब बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ ।

मौसमविद् कँडेलले अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत मौसम बदली हुन थालेको जानकारी दिनुभयो । यसपटक भने प्रदेश १ देखि प्रदेश ५ सम्म बढी बदली हुने उहाँले बताउनुभयो । केही स्थानमा भारी वर्षा हुने भएकाले पहिरो र बाढीको जोखिम हुने जानकारी दिँदै उहाँले सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *