Main News

गलत रिपोर्ट दिएको विषय ढाकछोप गर्दै राष्ट्रिय प्रयोगशाला, अनुसन्धानमा स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १८ गते २०:५४
गलत रिपोर्ट दिएको विषय ढाकछोप गर्दै राष्ट्रिय प्रयोगशाला, अनुसन्धानमा स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

१८ भदौ, २०७७ काठमाडौं । स्वाबको नमूना नै परीक्षण नगरी नेगेटिभ रिपोर्ट पठाएको खुलासा भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एसएमएस सेवा नै बन्द गरेको छ । भदौ १४ गते १ सय ५० जनाको कोरोना परीक्षण नै नगरी नेगेटिभ भनेर एसएमएस पठाइएको थियो ।

त्यसरी रिपोर्ट पठाइएका ४ जनामा त्यही स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको भएको म्यासेज गयो । यो खबर हिमालय टेलिभिजनबाट प्रशारण भएपछि एसएमएस सेवा नै बन्द गरिएको छ ।

भदौ १४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १ सय ५० जनाको मोवाइलमा स्वाब परीक्षणको नतिजा नेगेटिभ भनेर म्यासेज गयो । तर ती मध्ये कसैको पनि स्वाब परीक्षण गरिएको थिएन ।

अर्थात प्रयोगशालाबाट स्वाब नै परीक्षण नगरी भदौ १४ गते १ सय ५० जनालाई नेगेटिभ भनेर रिपोर्ट पठाइयो । तर दुई दिन पछि फेरी उनीहरु मध्येका केहीलाई कोरोना पोजेटिभ भनेर अर्को म्यासेज गयो ।

अर्थात २ दिनअघि परीक्षण नै नगरी रिपोर्ट पठाउने प्रयोगशालाले दुई दिनपछि परीक्षण गरेर रिपोर्ट पठायो । यसबारे हिमालय टेलिभिजनले रिपोर्ट प्रशारण गरेपछि प्रयोगशालालाई माथिल्लो निकायबाट व्यापक दवाब गयो । परिणाम प्रयोगशालाले एसएमएस सेवा नै बन्द गरिदियो ।

प्रयोगशालाका कर्मचारीको लापरवाहीबाट यसरी गलत म्यासेज गएको थियो । तर यसलाई प्रयोगशालाले प्राविधिक त्रुटि भनेको छ । तर नागरिक भने यो मान्न तयार छैनन् । र प्रयोगशलालाको गुणस्तरमै उनीहरुको शंका छ ।

देशकै सबैभन्दा ठूलो र अभिभावकीय भूमिकामा रहेको प्रयोगशालाबाट भएको यो लापरवाहीले विज्ञहरु पनि चकित छन् । यो लापरबाही सुधार्नुको सट्टा रिपोर्ट दिने सेवा नै बन्द गरेर अर्को लापरबाही गरिएको विज्ञको ठहर छ ।

प्रयोगशालाले २४ घण्टाका लागि एसएमएस सेवा बन्द गरेको भनेको छ । तर मन्त्रालयले अनुमति दिए एसएमएस सेवा सधैंलाई बन्द गरेर फोकल पर्सनमार्फत नै नतिजा दिने प्रयोगशालाको चाहना छ यसले आफूहरुबाट हुने गरेका त्रुटि सिधै जनतामाझ नपुग्ने र सुधार्न सक्ने ठाउँ र समय पाउने उसको बुझाइ छ । तर अहिले भने एसएमएस प्रणालीमा आएको समस्या समाधान गर्नकै लागि सेवा बन्द गरिएको प्रष्टिकरण छ ।

स्वास्थ्य मन्त्रालय भने एसएमएस सेवा रोक्ने पक्षमा नरहेको बताइरहेको छ । गलत रिपोर्ट दिइएको घट्नाले आफूहरुलाई गम्भीर बनाएको र अनुसन्धान गरेर सुधार्ने तर्फ लाग्ने उसको प्रतिबद्धता छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षणको दायरा पनि बढाउनु पर्ने हो । सरकारले परीक्षणको दायरा बढाउने भन्दै पनि आएको छ । तर दायरा बढेको छैन । उल्टै प्रयोगशालाबाट गम्भीर लापरबाही भएको सार्वजनिक भएको छ ।

यसले जनतामा त्रास त फैलाउँछ नै सहज रुपमा पाइरहेको सेवा बन्द हुँदा संकटमा राज्य अनुदार बनेको आभाष नागरिकले गर्न थाल्नेछन् । त्यसैले प्रविधिमा आएको समस्या चाँडो भन्दा चाँडो समाधान गरेर नागरिकलाई सही सूचना दिनेतर्फ राज्यका संयन्त्र चनाखो भएर लाग्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *