आर्थिक

कोरोनाको मार : चीन बाहेकका मुलुकको अर्थतन्त्र ओरालो लाग्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १७ गते २०:३०
कोरोनाको मार : चीन बाहेकका मुलुकको अर्थतन्त्र ओरालो लाग्दै (भिडियोसहित)

काठमाडौं । ठूला अर्थतन्त्र भएका मध्ये चीनबाहेक सबै मुलुकको आर्थिक अवस्था विश्वव्यापी कोरोना महामारीका कारण ओरालो लागेको छ । सबैभन्दा बढि असर विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकामा देखिएको छ जसको अर्थतन्त्र ३२ दशमलव ९ प्रतिशतले संकुचित भएको छ ।

अर्थतन्त्र संकुचनको यही अवस्था छिमेकी मुलुक भारत, जापान, जर्मनी, फ्रान्स जस्ता मुलुकको पनि छ । तर कोरोना महामारीको उद्गम मानिएको चीनको अर्थतन्त्र भने यो बीचमा पनि विस्तार भएको छ ।

अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार एशियामा कोरोना महामारीको सबैभन्दा नराम्रो असर भारतको अर्थतन्त्रमा परेको छ । एशियाको तेश्रो र विश्वको छैठौँ ठूलो अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको अवधिमा माइनस २३ दशमलव ९ प्रतिशतले संकुचित भएको छ ।

कुन देशको अर्थतन्त्रमा कति प्रभाव ?

भारत – माइनस २३ दशमलव ९ प्रतिशत
जापान – माइनस ६ दशमलव ८ प्रतिशत
अमेरिका – माइनस ३२ दशमलव ९ प्रतिशत
संयुक्त अधिराज्य– माइनस २० दशमलव ४ प्रतिशत
इटाली – माइनस ११ दशमलव ४ प्रतिशत
फ्रान्स – माइनस १३ दशमलव ८ प्रतिशत
क्यानडा – माइनस १२ प्रतिशत
जर्मनी – माइनस १० दशमलव १ प्रतिशत
चीन – ३ दशमलव २ प्रतिशत

भारतले सार्वजनिक गरेको कुल ग्राहस्थ उत्पादनको पछिल्लो तथ्यांक इतिहासकै खराब हो । सन् १९९४ देखि हरेक तीन(तीन महिनामा भारतले कुल ग्राहस्थ उत्पादन सार्वजनिक गर्दै आएकोमा कहिलेपनि यती ठूलो गिरावट आएको थिएन् । एशियाको दोश्रो ठूलो अर्थतन्त्र भएको जापानको समेत अवस्था उस्तै छ ।

अप्रिलदेखि जुनसम्मा जापानको कुल ग्राहस्थ उत्पादनमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको छ । तर एशियाका यी दुई मुलुकभन्दा सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाको अवस्था अझ खराब छ । अप्रिलदेखि जुनसम्ममा अमेरिकी कुल ग्राहस्थ उत्पादनमा ३२ दशमलव ९ प्रतिशतले गिरावट आएको छ ।

पछिल्ला ७३ वर्षयतामा यो हदको आर्थिक गिरावट अमेरिकामा देखिएको थिएन् । सन् १९४७ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा यो हदको संकुचन देखिएको हो । युरोपेली मुलुकका अर्थतन्त्र समेत कोरोनाले थलिएका छन् । बेलायतको कुल ग्राहस्थ उत्पादन २० दशमलव ४ प्रतिशतले घटेको छ ।

अप्रिलदेखि जुनसम्ममा इटालीको अर्थतन्त्र समेत १९९५ यताकै खराब अवस्थाबाट गुज्रिरहेको छ । इटालीको कुल ग्राहस्थ उत्पादनमा ११ दशमलव ४ प्रतिशतले खुम्चिएको छ ।

यस्तै फ्रान्सको अर्थतन्त्र १३ दशमलव ८, क्यानडाको १२ र जर्मनीको अर्थतन्त्र १० दशमलव १ प्रतिशतले खुम्चिएको छ । तर कोरोना उद्गम मुलुक भएर पनि विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको चीनको अवस्था भने ठीकठाक देखिएको छ ।

यो बीचमा धेरै देशको अर्थतन्त्र माइनसतिर लागिरहँदा चीनको कुल ग्राहस्थ उत्पादन ३ दशमलव २ प्रतिशतले विस्तार भएको छ । यद्य‍पी जनेवरीदेखि मार्चसम्मको अवधिमा भने चीनको कुल ग्राहस्थ उत्पादन सन् १९९२ यताकै थोरै अर्थात माइनस ६ दशमलव ८ प्रतिशतमा झरेको थियो ।

उसले यसलाई भरपाइ गरेको छ र फेरी उकालो लागेको छ । यसो हुनुको मुख्य कारण चीनले संक्रमण फैलिएको वुहान क्षेत्रवाहेक अन्यत्र आर्थिक कृयाकलाप जारी नै राख्नुलाई मानिएको छ । कोरोना महामारी नसकिएकाले आगामी दिन विश्वका धेरै मुलुकका लागि झन कठिन हुने विज्ञको मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *