Main News

नियमित हवाई उडानः चार्टर्डभन्दा पनि महंगो, आफ्नै नागरिकको कति ढाड सेक्ने सरकार ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १७ गते २०:०१
नियमित हवाई उडानः चार्टर्डभन्दा पनि महंगो, आफ्नै नागरिकको कति ढाड सेक्ने सरकार ? (भिडियोसहित)

१७ भदौ, २०७७, काठमाडौं । महँगो चार्टर उडानबाट नेपाल फर्कन नसक्ने देखेपछि नियमित उडान खुल्ला र स्वदेश फर्किउँला भनेर लाखौँ नेपाली कामदार पर्खाईमा छन् । तर ५ महिनापछि सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानको भाडा चार्टर्ड भन्दा बढि मात्र छैन्, नियमितभन्दा ७ गुणा महँगो छ ।

यसबाट नियमित उडान खुल्ला र घर फर्किउँला भनेर बसेका लाखौँ नेपाली निरास भएका छन् । विमान कम्पनीको यस्तो लुट रोक्नुको साटो सरकारले भने उनीहरुलाई नै साथ दिइरहेको छ ।

सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, जापान, चीन, हङकङ, टर्की र कुवेतबाट नियमित उडान खुल्ला गरेको छ । तर चार्टर उडानमार्फत नेपाल फर्कनेबाट चर्को शूल्क असुलेका विमान कम्पनीले नियमित उडानमा समेत अचाक्ली महँगो भाडा तोकेका छन् ।

नेपाल फर्कने हवाई भाडा चार्टरको भन्दा महँगो मात्र हैन, नियमितभन्दा ७ गुणासम्मले महँगो छ । कोरोनाअघि मलेसिया तथा खाडी मुलुकको हवाई भाडा विमान कम्पनी, सिजन र गन्तव्य लगायतका आधारमा २० देखि ३० हजार रुपैयाँसम्म थियो ।

कोरोनाका कारण नियमित उडान रोकिएपछि चार्टरको नाममा मलेसिया तथा खाडी राष्ट्रबाट काठमाडौं फर्कने भाडा ६० हजारदेखि ७५ हजारसम्म पुर्‍याइएको थियो । तर नियमित उडान सुरु हुँदा समेत मलेसियाको भाडा दर १ लाख ४२ हजारसम्म तिर्नुपर्ने भएको छ । जबकी कोरोनाअघि मलेसियाको भाडा १७ हजारदेखि २२ हजारसम्म मात्र थियो ।

मलेसियाको मात्रै विगतको तुलनामा झन्डै ७ गुणा महँगो भाडा तोकिएको छ । मलेसिया झैं युएईको भाडा समेत अचाक्ली महँगो बनाइएको छ । कोरोनाअघिसम्म युएईको अधिकत्म भाडा २५ हजारसम्म थियो ।

चार्टर उडानमा युएईको भाडा ४४ हजार ७ सय कायम गरिएको थियो । तर नयाँ भाडा अनुसार युएईबाट आउन ८० हजारदेखि १ लाख २ हजारसम्म तिर्नुपर्ने छ । यस्तै चार्टर उडानमा कुवेतको भाडा ४९ हजार ९ सय रुपैयाँ कायम गरिएको थियो । तर नियमित उडान खुल्दा समेत भाडाको घट्नुको साटो उल्टै बढेको छ ।

नियमित उडानमा कुवेतमा नेपाल आउन चाहानेलाई ६५ हजार रुपैयाँसम्म भाडा तोकिएको थियो । जबकी कोरोनाअघि कुवेतको भाडा २५ देखि ३० हजार रुपैयाँ मात्र थियो । दक्षिण कोरिया र जापानको भाडामा भने खास्सै अन्तर छैन् । धेरै नेपाली अलपत्र परेका मुलुकमै चर्को भाडा तोकिएको हो ।

सीमित संख्यामा मात्र यात्रु ल्याउन पाइने तथा एकतर्फी मात्र यात्रु बोक्ने भएकाले भाडा महँगो भएको विमान कम्पनीहरुको दाबी छ । जे(जस्तो दाबी गरे पनि विमान कम्पनीहरुले मिलेमतोमै सीमित टिकेटिङ एजेन्सीलाई मात्र टिकट काट्ने जिम्मा दिएका कारण हवाई भाडा महँगो पर्न गएको हो ।

यदि नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नागरिक उड्डययन प्राधिकरणले चाहाने हो भने हालको भाडा दर घटाउन सकिन्छ । तर यी दुई निकायले भने हालसम्म यस विषयमा चासो देखाएका छैनन् । यसले चार्टर उडानको भाडा तिर्न नसकेर घर फर्कन नपाएका कामदार अब पनि भाडा तिर्न नसकेकै कारण घर फर्कन नसक्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *