Main News

कोरोनाको कहर : १४ दिनमै थपिए १०० भन्दा बढी मृतक (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १३ गते १९:३८
कोरोनाको कहर : १४ दिनमै थपिए १०० भन्दा बढी मृतक (भिडियोसहित)

१३ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ । कोरोना संक्रमण देखिएको ७ महिना पूरा भए पनि शुरुवाती चार महिनासम्म कसैको मृत्यु भएको थिएन ।

जेठमा पहिलो मृत्यु भयो भने त्यसको साढे २ महिनामा मृतकको संख्या १ सय पुग्यो । तर पछिल्लो १४ दिनमै थप १ सय भन्दा धेरैको मृत्यु भएको छ । कोरोनाको मृत्युदर कसरी बढिरहेको छ रु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ दिनमा दोब्बर भन्दा धेरै भएको छ । अर्थात पछिल्लो १४ दिनमा १ सय भन्दा धेरैको मृत्यु भएको छ । मृतकको संख्या १ बाट १ सय पुग्न झण्डै ३ महिना लाग्यो तर १ सय बाट २ सय पुग्न चौध दिन मात्र लागेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक केलाउँदा साउन १४ गतेसम्ममा ४९ जनाको मृत्यु भएकोमा त्यसपछि सत्र दिनमा थप ५३ जनाले ज्यान गुमाए । कोरोनाका कारण साउन २० गतेयता मृत्यु टुटेको छैन । यो अवधिमा झण्डै डेढ सय जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु जेठ ३ गते पुष्टि भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । ती महिलाको मृत्यु भएको २ महिनासम्म अर्थात साउन ३ गतेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० थियो । तर एक महिना अघि काठमाडौं उपत्यका, वीरगञ्ज लगायतका शहरी क्षेत्रमा समुदाय स्तरमा नै संक्रमण देखिएपछि मृतकको संख्या बढ्यो ।

नेपालमा पहिलोपटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो कोरोना संक्रमण पुष्टि भएको झण्डै चार महिनापछि पहिलो मृत्यु भएको थियो । त्यसपछि पहिलो महिना र दोश्रो महिनामा २०( २० जना मृतक थपिए । तेश्रो महिनामा ६४ जनाको मृत्यु भएकोमा भदौ दोस्रो सातामै थप १ सय भन्दा बढी मृतक थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले शनिबार निकालेको तथ्यांक अनुसार मृत्यु हुनेमा १५३ जना पुरुष र ५४ जना महिला छन् । मृत्यु हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४३ जना छन् । ५१ देखि ६० वर्ष उमेर समूहका ४० जनाको मृत्यु भएको छ । पछिल्लो पटक ६० वर्ष उमेर माथिकाको मृत्यु दर बढेको छ । ६१ वर्षदेखि ७० वर्षसम्मका ४२ जना, ७१ वर्षदेखि ८० वर्षसम्मका २७ जना र ८१ वर्षभन्दा माथिको उमेर समूहका १४ जना छन् ।

कोरोना संक्रमणबाट १० वर्षमुनिका बालबालिकाको पनि मृत्यु भएको छ । २ जना बालक र २ जना बालिकाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । ११ देखि २० वर्षका ५ जना, २१ देखि ३० वर्षको उमेर समूहका १२ जना र ३१ देखि ४० वर्षको उमेर समूहका २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी प्रदेश २ का छन् । प्रदेश २ मा ८१ जना, बाग्मति प्रदेशमा ४८ जना, प्रदेश ५ मा २८ जना, प्रदेश १ मा २४ जना, गण्डकी प्रदेशमा १२ जना, सुदूरपश्चिम प्रदेशमा १० जना र कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *