समाज

परीक्षण उडानसमेत भयो तर १४ वर्षमा पनि किन बनेन रेसुङ्गा विमानस्थल ? भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ९ गते ६:१५
परीक्षण उडानसमेत भयो तर १४ वर्षमा पनि किन बनेन रेसुङ्गा विमानस्थल ? भिडियोसहित)

९ भदौ, २०७७ गुल्मी । नेपालमा सम्भाव्यता अध्ययन नै नगरी गाउँ गाउँमा विमानस्थल बनाउने लहर चल्यो । कतिपय विमानस्थलमा परीक्षण उडान पनि भए । तर त्यसपछि भने कुनै उडान हुन सकेका छैनन् ।

यस्तैमध्येको एक हो गुल्मीको रेसुङ्गा विमानस्थल । जहाँ परीक्षण उडान त भयो तर नियमित उडानको अत्तोपत्तो छैन ।

प्रदेश पाँचको पहाडी जिल्ला गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १० सिमिचौरमा विमानस्थल निर्माण भएको छ । यहाँ परीक्षण उडान भएको पनि दुई वर्ष भइसक्यो । नियमित उडान हुन नसक्दा विमान चढेर आवतजावत गर्ने गुल्मेलीको सपना पुरा हुन सकेको छैन । विमानस्थल संचालन भए वरपरका सडक पनि राम्रा हुन्थे कि भन्ने स्थानीयको आशा छ ।

तत्कालिन पर्यटनमन्त्री प्रदिप ज्ञवालीले २०६३ सालमा रेसुङ्गा विमानस्थलको निर्माण सुरुवात गर्नुभएको थियो । मन्त्री ज्ञवाली अहिले परराष्ट्रमन्त्री हुनुहुन्छ । सरकारको गति जस्तो छ यो विमानस्थल निर्माणको काम पनि त्यस्तै छ ।

१२ वर्षपछि २०७५ जेठ २७ गते विमानस्थलको धुले रन वेमा परिक्षण उडान गरियो । परीक्षण उडान भएको पनि दुई वर्ष भएको छ । तर नियमित उडान कहिले हुने पत्तो छैन । स्थानीय जनप्रतिनिधि लकडाउन लगायतका विभिन्न कारण निर्माणमा ढिलाइ भएको बताउँछन् ।

विमानस्थल निर्माण लागि हालसम्म करिव १५ करोड खर्च भइरहेको छ । ७८ रोपनी १० आना क्षेत्रफलमा बनिरहेको विमानस्थलमा ४६ घरधुरीलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ । अहिलेसम्म जम्मा ३० प्रतिशत काम मात्र भएको आयोजनाले जनाएको छ ।

गुल्मी प्राकृतिक रुपमा सुन्दर र पर्यटकीय संभावना भएको जिल्ला हो । ०३६ सालबाटै यहाँ विमानस्थल निर्माणका लागि बहस शुरु भएको थियो । तर निर्माण शुरु हुन २०६३ सालसम्म पर्खनु पर्‍यो । अहिले निर्माण त भइरहेको छ तर कछुवा गतिमा । विमानस्थल तयार भए सहज रुपमा संचालन हुने संभावना पनि छ । तर निर्माणको अहिलेको गति हेर्दा भने विमान चढ्ने गुल्मेलीको सपना पुरा हुन अझै कति वर्ष लाग्ने हो भन्न गाह्रो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *