Main News

कोरोना रोकथाम गर्न मकवानपुरमा निषेधाज्ञा थप, सिरहामा लकडाउन

हिमालय टिभी
२०७७ भदौ १ गते ७:४१
कोरोना रोकथाम गर्न मकवानपुरमा निषेधाज्ञा थप, सिरहामा लकडाउन

१ भदौं, २०७७ काठमाडौं । मकवानपुरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा लगाईएको निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ ।

आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यसअघि साउन २६ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी भएको थिथो । कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । निषेधाज्ञा विगतका तुलनामा कडा पारिने उहाँको भनाइ छ ।

निषेधाज्ञा समयमा बिहान ५ देखि ८ बजेसम्म पसल खुला रहने छ । त्यस अवधिमा हेटौँडाका खाद्यान्न, तरकारी र फलफूलका पसल सञ्चालन हुने बताइएको छ ।

साथै उपमहानगरपालिका तथा प्रहरीद्वारा माइकिङ गरी निषेधाज्ञाको पालना गर्न टोल तथा बजारमा सूचनासमेत जारी गरेको छ । त्यसैगरी सुरक्षा सतर्कता पनि बढाइएको छ ।

जिल्ला बाहिरवाट भित्र तथा जिल्लाभित्रबाट बाहिरको आवागमन पनि रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी कोरोना संक्रमणको जोखिमका कारण सिरहामा पनि लकडाउन लागू भएको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर दुई हप्ताको लागि लकडाउन लागू भएको छ। भदौ १५ गते राति १२ बजेसम्मको लागि जारी लकडाउनको अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द रहने छन् ।

हिजो सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको अध्यक्षतामा बसेको जिल्ला स्तरीय सिसिएमसीको बैठकले जिल्लाभर दुई हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको थियो। सिरहामा रहेको १७ वटै स्थानिय तहमा लकडाउन भएको छ।

अब प्रदेश २ को ८ वटा जिल्ला मध्ये ७ वटा जिल्लामा जिल्लाभर लकडाउन वा निषेधाज्ञा लगाइएको छ । अहिले महोत्तरीमा जिल्लाभर लकडाउन अथवा निषेधाज्ञा जारी गरिएको छैन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *