आर्थिक

गत वर्ष कुन बैंकले कति कमाए नाफा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १ गते ६:३८
गत वर्ष कुन बैंकले कति कमाए नाफा ? (भिडियोसहित)

१ भदौ, २०७७, काठमाडौं । कोरोना भाइरस महामारीको असर वाणिज्य बैंकहरुको नाफामा समेत परेको छ । गत आर्थिक वर्षमा २७ वाणिज्य बैंकले कुल ५४ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ७ अर्ब रुपैयाँ कम हो । कोभिड–नाइन्टिनका कारण गत आर्थिक वर्ष बैंकहरुको करिब ५१ अर्ब रुपैयाँ साँवा तथा ब्याज उठेन् । यस्तै ब्याजमा दिइएको छुट, ‍सञ्चालन खर्च बढ्नु तर त्यसको तुलनामा आम्दानी नबढ्दा वाणिज्य बैंकहरुको नाफा घटेको हो ।

आर्थिक वर्ष ०७५(७६ मा सबै वाणिज्य बैंकहरुले ६१ अर्ब ६९ करोड १ लाख रुपैयाँ नाफा कमाएका थिए । तर गत आर्थिक वर्षमा भने वाणिज्य बैंकहरुको नाफा ७ अर्ब ३७ करोड रुपैयाँले घटेको छ । गत आर्थिक वर्ष २७ वटै वाणिज्य बैंकहरुको कुल नाफा ५४ अर्ब ३१ करोड ६० लाख रुपैयाँ छ । गत वर्ष एनआइसी एसिया, ग्लोबल आइएमई, प्राइम, एनएमबी, एनसिसी र सेन्चुरी बैंकको मात्र नाफा बढेको छ ।

यीबाहेक अन्य २१ वटा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्षको तुलनामा नाफा घटे पनि गत वर्ष पनि सबैभन्दा ब‍ढी नाफा राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको हो ।

गत आर्थिक वर्ष ४ अर्बभन्दा बढि नाफा कमाउने बैंकमा राष्ट्रिय वाणिज्य एक्लो बैंकको हो । ४ वटा बैंकले भने ३ अर्बभन्दा बढि नाफा कमाए । ३ अर्बभन्दा बढि तर ४ अर्बभन्दा कम नाफा कमाउने बैंकमा नविल, कृषि विकास, एनआईसी एसिया र ग्लोबल आइएमई छ ।

यस्तै ३ अर्बभन्दा मुनी तर २ अर्बभन्दा माथि नाफा गर्नेमा ७ वटा बैंक छन् । गत आर्थिक वर्ष इन्भेष्टमेन्ट, नेपाल बैंक, हिमालयन, एभरेष्ट, प्राइम, एनएमबी र सिद्धार्थ बैंक २ अर्बभन्दा बढी नाफा कमाएका छन् । यस्तै २ अर्ब भन्दा थोरै तर १ अर्बभन्दा बढी नाफा आर्जन गर्नेमा १३ वटा बैंक छन् ।

स्टान्डर्ड चार्टड, सानिमा, एसबीआई, मेगा, लक्ष्मी र बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष १ अर्ब बढि नाफा कमाए । यीबाहेक सनराइज, प्रभु, माछापुच्छ्रे, नेपाल बंगलादेश, कुमारी, एनसीसी र सिटिजन्स बैंकले पनि १ अर्ब बढि नाफा गरेका छन् । गत आर्थिक वर्ष २ वटा बैंकले भने आफ्नो नाफा करोड कटाउन सकेनन् । गत आर्थिक वर्ष सेन्चुरीले ९० करोड र सिभिल बैंकले ४५ करोड मात्र नाफा कमाएका छन् ।

५४ अर्ब ३१ करोड ६० लाख रुपैयाँमध्ये भविष्यको सम्भावित जोखिम तथा विभिन्न कोषमा छुट्याउनुपर्ने हुन्छ । यसले बैंकहरुले शेयरधनीलाई ३१ अर्ब २७ करोड रुपैयाँ मात्र लाभांश बाँड्न सक्ने देखिएको छ । कोभिड(नाइन्टिनका कारण अर्ततन्त्रमा परेको असरकै कारण वाणिज्य बैंकहरुको नाफा घटेको छ ।

कोभिड–नाइन्टिनका कारण प्रभावित ऋणीको साँवा तथा ब्याज भुक्तान गर्न भाका राष्ट्र बैंकले सारिदिएको छ । यसले गर्दा गत आर्थिक वर्ष करिब ५१ अर्ब रुपैयाँ बराबरको साँवा तथा ब्याज उठेन । यसले बैंकहरुको नाफा घटाएको हो ।

यस्तै लकडाउनका कारण निक्षेप संकलनको तुलनामा कर्जा विस्तार हुन नसक्नु र व्यवसायीलाई ब्याजमा छुट दिनुलाई पनि बैंकहरुको नाफा घट्नुको कारण मानिएको छ ।

अहिले ७ सय ७३ वटा स्थानीय तहमध्ये ७ सय ६७ वटामा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । सबै स्थानीय तहमा शाखा शाखा पुर्‍याउनु पर्दा बैंकको सञ्चालन खर्च बढेकाले पनि नाफा घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *