Main News

कोरोना महामारीयता किन बढ्यो आत्महत्या ? यसो भन्छन् मनोविश्लेषक (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २८ गते २०:३५
कोरोना महामारीयता किन बढ्यो आत्महत्या ? यसो भन्छन् मनोविश्लेषक (भिडियोसहित)

२८ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना कहर सुरु भए यताका ५ महिना सर्वसाधारण जनताका लागि निकै कस्टकर बनेको छ । कोरोना संक्रमणको त्रासका कारण गरिएको लकडाउनको अवधिमा जनताले निकै सास्ती पाए ।

आर्थिक रुपमा मात्र नभइ मानसिक रुपमा पनि जनता निकै प्रताडित भए । र गएको ४ महिनामा झण्डै २३ सय जनाले आत्महत्या गरेका छन् । र यसको कारण कोरोनाले सृजना गरेको परिस्थिति पनि हुन सक्ने अनुमान गरिएको छ ।

नेपाल प्रहरीका अनुसार नेपालमा पहिलो पटक लकडाउन घोषणा भएको चैत ११ गतेदेखि साउन ४ गतेसम्म २ हजार २ सय १८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार प्रदेश १ मा चैत ११ गतेदेखि यता ३ सय ७१ जनाले आत्महत्या गरेका छन् । प्रदेश २ मा ३ सय ५ जनाले र बागमती प्रदेशमा ५ सय ४४ जनाले आत्म हत्या गरेका छन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार
–प्रदेश १ मा– ३७१ जना
–प्रदेश २ मा – ३०५ जना
–बाग्मती प्रदेशमा – ५४४ जना
–गण्डकी प्रदेशमा – २४६ जना
–प्रदेश ५ मा – ४२९ जना
–कर्णाली प्रदेशमा – ११९ जना
–सुदूरपश्चिम प्रदेशमा – २०४ जना

बागमतीका ५ सय ४४ जना मध्ये काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै १ सय ५९ जनाले आत्महत्या गरेका छन् । गण्डकी प्रदेशका २४६ जनाले, प्रदेश ५ मा ४२९ जनाले, कर्णाली प्रदेशमा १ सय १९ जनाले र सुदुरपश्चिम प्रदेशमा २०४ जनाले आत्महत्या गरेका छन् ।

नेपाल प्रहरीले आत्महत्याका घट्नालाई ७ किसिमले छुट्याएको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार
विष खाएर – ३४६ जना
आगो लगाएर – ४ जना
झुण्डिएर – १८२८ जना
औजार तथा हातहतियारबाट – ८ जना
हामफालेर – १९ जना
करेन्ट लगाएर – १ जना
डुबेर – १२ जना

विष खाएर ३४६ जनाले आत्महत्या गरेका छन् । यस्तै आत्मदाह अर्थात आफैंलाई आगो लगाएर ४ जनाले आत्म हत्या गरेका छन् । कोरोना कहर यता सबैभन्दा धेरैले झुण्डिएर आत्महत्या गरेको तथ्यांक नेपाल प्रहरीसँग छ । प्रहरीका अनुसार यो बीचमा एक हजार ८ सय २८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

यसबाहेक विभिन्न औजार तथा हातहतियारको प्रयोग गरेर ८ जनाले आत्महत्या गरेका छन् भने १९ जनाले हामफालेर आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ । प्रहरीसँग आत्महत्याका अन्य घट्ना पनि छन् । जसअनुसार करेन्ट लगाएर १ जनाले आत्म हत्या गरेका छन् भने १२ जनाले डुबेर आत्महत्या गरेका छन् ।

यसरी आत्महत्या गर्नेमा १ हजार १ सय ७२ जना पुरुष, ८ सय ११ जना महिला छन् । यतिमात्र होइन आत्महत्या गर्नेको यो संख्यामा २३५ जना बालबालिका पनि रहेको तथ्याङ्कमा छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार
आत्महत्या गर्ने पुरुष – ११७२
आत्महत्या गर्ने महिला – ८११
बालबालिका – २३५

कोरोनाको त्रासका बीच सबैजना घरमै रहेको अवस्थामा पनि आत्महत्या गर्नुलाई मनोचिकित्सकहरु कोरोनाले निम्त्याएको मानसिक असरलाई कारण मान्छन् । र मानसिक स्वास्थ्यको पाटोमा सरकारको ध्यान नपुगेका कारण पनि आत्महत्याका घट्ना बढेको उनीहरुको बुझाइ छ ।

नेपालमा लकडाउन खुलिसकेको अवस्था भए पनि नागरिकको दैनिकी अझै सहज हुन सकेको छैन । त्यसैले आत्महत्याका घट्ना झने बढ्न सक्ने मनोविद्को चिन्ता छ ।

विश्वभरनै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास कहिलेसम्म रहने हो कसैलाई थाहा छैन । यो बीचमा नागरिकको दैनिकी कस्तो छ भन्ने विषयमा सरकारले ध्यान दिएको देखिन्न । यस्तोमा सरोकारवाला सबैले कोरोनाविरुद्धको यो लडाइँमा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यको विषयलाई पनि गम्भीरताका साथ लिन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *