Main News

नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु, नेपालमा ३८१ संक्रमित थपिए

हिमालय टिभी
२०७७ साउन २१ गते १६:३८
नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु, नेपालमा ३८१ संक्रमित थपिए

२१ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा २/२ जनाको ज्यान गएको हो । मोरङको विराटनगर ९ गुद्रीका पुरुष र रंगेलीकी ८ की महिलाको मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

कोशी अस्पताल विराटनगरमा गएराति भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो । रंगेलीकी महिलाको विहान मृत्यु भएको थियो । दुबैको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालको आइसोलेशनका इञ्चार्ज डाक्टर लक्ष्मीनाराययण यादवले जानकारी दिनुभयो ।

यसअघि विराटनगर वडा नम्बर ९ का पुरुष र विराटनगर वडानम्बर ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो ।

यसैगरी, वीरगञ्जको हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।

ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिएपछि गएराति ९ बजे अस्पताल भर्ना भएका पुरुषको आज बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका डा। निरज सिहले जानकारी दिनुभयो । साउन १८ गते नमुना संकलन गरिएका पुरुषमा १९ गते कोरोना पोजेटिभ आएको थियो। डाक्टर सिंहका अनुसार ती व्यक्ति मधुमेहका बिरामी थिए ।

यस्तै, पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार राति पटकपटक बान्ता हुन थालेपछि उपचारका लागि नेशनल मेडिकल कलेज वीरगंज लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी हिजो नारायणी अस्पतालमा पठाइएको थियो। राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका फिजिसियन एवं गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिहले जानकारी दिनुभयो ।

युवतीको स्वाब रिपोर्ट पोजिटिभ आए पनि मृत्यु शंकास्पद देखिएको छ। पोखरीया ८ जगतपुर घर भएकी ती अविवाहित युवती गर्भवती भएको परिवारजनले थाहा पाएपछि उनको हत्या भएको पनि हुन सक्ने आशंका छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ।

बुधबार ३ सय ८१ थप कोरोना संक्रमित थपिएका छन । ६ हजार ३ सय ५९ पीसीआर परीक्षणमा ३ सय ८१ जना संक्रमित थपिएका हुन । आजसम्म पीसीआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको कोरोना परीक्षण भएको छ ।

आज देशभरीका अस्पतालमा ६ हजार १ सय ७३ जना संक्रमित उपचाररत रहेका छन । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा ३ सय १२, प्रदेश नम्बर २ मा २ हजार ६ सय २२ र बागमती प्रदेशमा ७ सय ८५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै गण्डकी प्रदेशमा २ सय ७२, प्रदेश नम्बर ५ मा ३ सय ४०, कर्णाली प्रदेशमा २ सय ९२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५१ जना उपचाररत रहेका छन ।

बुधबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ । प्रदेश नम्बर १ मा ९ सय १६, प्रदेश नम्बर २ मा ३ हजार २ सय १२, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८८, कर्णाली प्रदेशमा १, हजार ७ सय ४४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ९१ जना संक्रमणमुक्त भएका छन ।

बुधबार देशभरीका क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय ८२, प्रदेश नम्बर २ मा १ हजार २ सय ११, बागमती प्रदेशमा ७ सय ९८ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८९, कर्णाली प्रदेशमा ४ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजा ८ सय ४४ जना रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *