Main News

सडकको अवस्था यस्तो बेहालः पाँच किलोमिटर यात्रा गर्न एक दिन (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २० गते १७:१४
सडकको अवस्था यस्तो बेहालः पाँच किलोमिटर यात्रा गर्न एक दिन (भिडियोसहित)

२० साउन, २०७७ धनकुटा । मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले– लेगुवा सडक तीन वर्षभित्र कालोपत्र गर्न २०७२ सालमा दुई ठेकेदार कम्पनीले जिम्मा लिएका थिए । तर त्यो समय बितेर थप गरिएको म्याद सकिन लाग्दासमेत काम सकिएको छैन । यात्रु हिलाम्मे सडकमा यात्रा गर्न मात्र बाध्य छैनन् बिरामीबीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।

हिलेदेखि पाख्रिवाससम्म पाँच किलोमिटर मात्रै छ । गतिलो सडकमा यो दूरी १० मिनेट हाराहारीमा पार हुन्छ । तर पानी परेका बेला यहाँ मालवाहक गाडीलाई पाँच किलोमिटर पार गर्न पुरै एक दिन लाग्छ ।

यसबाट पनि स्पष्ट हुन्छ की हिले लेगुवा सडकको अवस्था कस्तो छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत हिलेदेखि पाख्रिबास हुँदै पञ्चेसम्मको १३ किलोमिटर सडक कञ्चनजंघा कन्स्ट्रक्सनले तीन वर्ष भित्रमा निर्माण गर्ने गरी ठेक्का लिएको थियो ।

सम्झौता अनुसार २०७५ साल चैत मसान्तभित्र सडकमा कालोपत्रे गरिसक्नु पर्ने थियो । तर, समयमा काम नगरेपछि सरकारले सम्झौता अवधी बढाएर २०७७ पुससम्म पुर्‍यायो । ठेकेदारले अहिले सडक अलपत्र छाडेको छ । जसका कारण यात्रु र दैनिक उपभोग्य सामाग्री दुवानी गर्ने गाडीलाई सास्ती भएको छ ।

३८ करोड २३ लाख रुपैँया लगानीमा सडक निर्माणको ठेक्का लिएको कञ्चनजंघा कन्स्ट्रक्सनले १३ किलोमिटर सडकका केही स्थानमा कल्भर्ड र नाली मात्र निर्माण गरेको छ । तर २८ करोड २८ लाख रुपैँयाभन्दा बढी रकम निकासा भइसकेको छ । समयमै काम सक्न ठेकेदार कम्पनीलाई पटक पटक कागज गराए पनि प्रगति भएको छैन ।

यो धनकुटा मात्र नभइ संखुवासभा र भोजपुर पुग्ने एक मात्र सडक हो । सडक अलपत्र हुँदा बर्खाको समयमा आवतजावत गर्न तथा उपाचारको लागि बिरामी अस्पतालसम्म पुर्‍याउन पनि समस्या भइरहेको छ । सरोकारवाला निकायले समयमै काम नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याएर सडक निर्माणमा चासो दिए यात्रुलाई सुविधा हुने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *